२३ मंसीर, पर्वत । शुक्रबार साँझ देखि जारी मतगणना जिल्ला अदालत परिसरमा चलिरहेको छ । जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भएको मतदानको मतगणना चलिरहदा केहि रोचक नयाँ परिणामहरु पनि देखिन थालेका छन । जिल्लाको राजनीतिमा लामो समय देखि सक्रिय नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्व सांसद अर्जुन जोशी यस पटक पनि प्रतिनिधि सभाको उमेदवार बनेका छन । जिल्लाको सदरमुकाम कुश्मा बजारलाई स्थापीत गराउन जोशीका बुवा अमृत जोशीको योगदान रहेको साविकको शिवालय गाविसका सवै निर्वाचनहरु जोशीको पकडमा रहन्थे ।
हालको कुश्मा नगरपालिका वडा न ४ का स्थायी बासिन्दा जोशी यहि क्षेत्रबाट ३ पटकसम्म संसदीय राजनीतिमा अनुभव सम्हाल्ने अवसर समेत पाएका नेता हुन । उनी चुनाव लड्ने अवस्थामा तत्कालीन शिवालय गाविसलाई नेपाली कांग्रेसको आधार क्षेत्र मानिन्थ्यो । शुक्रबार देखि जारी मतगणनलाई विश्लेषण गर्दा साविककको शिवालय गाविसमा पदम गिरीले अग्रता लिएका छन । शिवालय गाविसका हालका कुश्मा नगरपालिका वडा न ४, ५, ६ र ६ वडामा नेपाली कांग्रेसका जोशीलाई पदम गिरीले पछाडी पारेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार कुश्मा नगरपालिका वडा न ४ मा अर्जुन जोशीले कुल ६३१ मत प्राप्त गरेका छन भने पदम गिरीले २८२ मत प्राप्त गरेका छन । यसैगरी वडा न ५ मा जोशीले ४३४ र गिरीले ४१५ मत प्राप्त गरेका छन । यसैगरी वडा न ६ मा जोशीले १४८ मत र गिरीले ४४८ मत पाएका छन ।
उता वडा न ७ मा जोशीले ३३६ र गिरीले ४७० मत प्राप्त गरेका छन । जोशीको पकड क्षेत्रमा गिरी कुल ६० मतले अग्रता कायम गरेका छन । यो मतपरिणामसंगै जोशीको लोकप्रियता आफ्नै गाउँमा कमी आएको कांग्रेसका कार्यकर्ताहरुले नै टिप्पणी गरेका छन । जोशी यो क्षेत्रमा निकै प्रभावशाली नेता मानिन्छन ।




