३ मंसीर, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यका उमेदवार अर्जुन जोशीलाई मतदाता सामू उत्तर दिन सकस परेको छ । ३ पटकसम्म प्रतिनिधि सभाका सदस्य बनेका जोशी चौथो पटक चुनावी मैदानमा छन । सानो जिल्ला भईकन विकासले फड्को मार्न सक्ने सम्भावनालाई जोशीले १८ बर्षे कार्यकालमा वेवास्ता गरेको भन्दै उनीसामू मतदाताले प्रश्नको चाङ तेर्साउने गरेका छन । सांसद भएपछि जोशी सधै नातावाद र परिवारवादको चंगूलमा फस्दै आएको स्वय्म कांग्रेस कार्यकर्ताको आरोप छ ।
चुनावी अभियान अन्तर्गत जिल्लाका विभिन्न वडाहरुमा पुगेका जोशीलाई मतदाताले ‘यत्रो बर्ष सांसद हुनुभयो, हाम्रो लागि के गर्नुभयो ।’ भन्ने साझा प्रश्न सोधिरहेका छन । जोशीले २०५४ सालमा जिल्ला विकास समितिले खनेको सडक आफूले खनेको मतदातालाई बताएका छन । २०५४ साल पछि नियमित जिल्ला विकास समिति र गाउँ विकास समितिहरुमा आउने रकमले जिल्लाका सडक सञ्जालहरु विस्तार भएका छन । मोदी गाउँपालिकाका तेजप्रसाद शर्मा भन्छन– ‘म ताते ताते गरेर हिड्ने बेला तपाईं संम्साद हुनु हुन्थ्यो अहिले मेरो दोर्सो पुस्ता ताते ताते गरेर हिड्ने बेला भै सक्यो अब तपाईको झुटो आश्वासनको बिश्वास जनतालाई नरहेको नै राम्रो ।’
जिल्लामा दुई दशक देखि मोदीखोला जलविद्युत आयोजना नेपाल सरकारले सञ्चालन गरीरहेको छ । सामुदायिक विद्युतीकरण मार्फत झण्डै २ दर्जन बढि गाविसहरुमा उपभोक्ता आफैले विद्युत जडान गरेका छन । नियमित रुपमा विद्युत प्राविधिकरणमा आउने फलामे पोल र तत्कालीन जिल्ला विकास समितिले आफ्नो आन्तरीक विद्युत रोयल्टीको रकमबाट खरिद गरेर वितरण गरेका फलामे पोल बाहेक गाउँमा अन्य क्षेत्रबाट फलामे पोल पुग्न सकेको छैन । काठे पोलकै कारण दुर्घटना हुँदा कतिपयको ज्यान गएको समाचार सार्वजनकि हुन गरेको छ । जिल्लाका दक्षिण क्षेत्रमा अझै पनि १ मिटर पनि कालोपत्रे छैन । मतदाताले उमेदवार सामु सडक, विद्युत, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको माग गरिरहेका छन ।
नेपाली कांग्रेसको केन्द्रिय नेतृत्वमा रहेर पनि जोशीले जिल्लामा ठूला योजनाहरु भित्राउन नसकेको भन्दै मतदाताले गरेको प्रश्नमा जोशीले केहि योजनाहरु भने आफूले जिल्लामा भित्राएका दावी गरेका छन । वारी वेनी संरक्षण योजनामा बाँध निर्माण, घुम्ति लाम्पाटा सडक कालोपत्रे र वारीवेनी मल्लाज सडकको कालोपत्रे । ३ ठूला योजनामा जोशीको दावी रहेपछि ति योजनाहरु अझै कार्यान्वयनमा छैनन । घुम्ति लाम्पाटाको कालोपत्रेको काम भने शुरु भएको छ ।
आफूले जिताएर पठाएका जनप्रतिनिधिहरुले आफूले अनुभूति हुने गरी विकास योजनाहरु ल्याउन भन्ने जनताले चाहेका हुन्छन् । मतमाग्न गएका प्रतिनिधिलाई मतदाताको एउटै प्रश्न छ–‘आश्वासन होइन हामीलाई विकास चाहियो ।’
सरकारको नियमित कार्यक्रम अन्तर्गत जिल्लामा भित्रिएको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई आयोजना र जिल्ला खानेपानी तथा सरसफाई आयोजनाको बार्षिक कार्यक्रममा जिल्लामा खानेपानीको पहुँच धेरै घरधुरी पुगेको छ । उता, सोहि परियोजनाको सहयोगमा जिल्ला खुल्ला दिसा मूक्त घोषणा भएको हो । जनप्रतिनिधिले आफू्रले जस पाउने गरी यि कूनै काम नगरेको जनताको आरोप छ ।
सदरमुकाम कुश्मामा बर्षौ देखि निर्माणधिन बसपार्क अझै बन्न सकिरहेको छैन । खेलमैदानको अभावमा जिल्ला स्तरीय खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न युवाक्लवहरुलाई समस्या छ । सडकको स्तरोउन्नती नहुँदा बर्षको झण्डै ४ महिना सडकका सवारी सञ्चालन गर्न समस्या छ । कृषि उत्पादनलाई बजारीकरणको समस्याका कारण कृषकहरु समस्यामा छन ।
बषौ देखि निर्माण शुरु भएको बडागाउँ देखि मोदीवेनी जोड्ने सडक निर्माण कार्य पुरा नहुँदा फलेवास क्षेत्रका जनता दोविल्ला–साइकलचोक सडक प्रयोग गर्न बाध्यछन । जसले समय संगै भाडा दर निकै महंगो छ । पर्यटकीय सम्भावना वोकेका क्षेत्रहरु गुप्तेश्वर गुफा, पञ्चासे क्षेत्र, मोदीवेनी धाम, डहरेको लेक र विभिन्न कोटहरुका वृहत गुरु योजना निर्माण र त्यसको संरक्षण हुन नसक्दा पर्यटकीय सम्भावना जिल्लामा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावनायूक्त कुश्मा वलेवा केबलकार निर्माणमा जनप्रतिनिधिको सकारात्मक सहयोग नभएको सञ्चालक समितिका सदस्यहरुको भनाई छ । पछिल्लो समय स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजना (डोलिडार) को सहयोगमा निर्माण भएका ३ वटा अग्ला पुलहरुले नै पर्वतको समग्र पर्यटन धानेको छ ।
बर्षौ देखि जिर्ण बनिरहेको पोखरा बागलुङ राजमार्ग अन्तर्गत पर्वत सडकमा मर्मत कार्य नहुँदा यात्रा निकै कष्टकर बन्दै आईरहेको छ । जोशीसंगै मतमाग्न जनताको घरदैलो पुगेका पूर्व जनप्रतिनिधि र नयाँ अनुहारहरुसंग पर्वतबासीका गुनासै गुनासा छन । नयाँ संविधान कार्यान्वयनकै चरणमा भएको यो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले अव भने विकास योजनाहरु जिल्लामा भित्राउने आशमा पर्वतका आम मतदाता रहेका छन । (समाचार टिप्पणी सहित)




