७ असोज, पर्वत । पर्वतको सबैभन्दा सानो गाउँपालिका महाशिला गाउँ पालिकामा एक घर एक धारा विस्तार अभियान सुरु भएको छ । स्थानीयवासीलाई खानेपानीको सहज पुहँच पु-याउने उद्देश्यले एक घर एक धारा पु-याउने कार्यक्रम सुरु भएको हो ।
महाशिला गाउँपालिकाका ६ वटै वडामा पर्ने होश्राङ्दी, भोक्सिंग, बालाकोट, पाखापानी, लुंखु, फलामखानीमा एक घर एक धारा दुई वर्षभित्रमै पूरा गर्नेगरी काम सुरु भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार खानेपानीको अभावले काकाकुलको नियति भोग्दै आएका महाशिला– ६ फलामखानीमा योजना सुरु भएको छ । महाशिला गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाइ आयोजनाको संयुक्त लगानीमा खानेपानी आयोजना सुरु भएको हो ।
झण्डै २ करोड २२ लाखको लागतमा उक्त योजना सुरु भएको हो । लिफ्ट खानेपानी आयोजनाबाट फलामखानीका १२० घरधुरी लाभान्वित हुने भएका छन् । अहिलेसम्म आकाशको पानी र आहालको पानी पिउन बाध्य भएका उक्त गाउँका दलित घरपरिवार यो वर्षभित्रमै स्वच्छ खानेपानी खान पाउनेगरी योजना सुरु गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार बस्तीभन्दा झण्डै ४४० मिटर तल रहेको सिस्नेरी खोलाबाट पानी तान्ने प्रयास भइरहेको छ । प्राविधिकको नापजाँचका आधारमा भर्टिकल रूपमा ४४० मिटर भए पनि दूरीको हिसाबले बस्तीभन्दा उक्त खोला झण्डै दुई किमि टाढा छ । अहिले उक्त दलित बस्तीका बासिन्दाले सोही खोलामा पुगेर घण्टांै समय लगाएर पानी पिउन बाध्य भएका छन् ।
त्यस्तै गाउँपालिकाअन्तर्गत वडा नं. १ होश्राङदीमा समेत लिफ्ट खानेपानी योजना सञ्चालनमा छ । त्यसैगरी पाखापानीको सिम्ले, बालाकोटलगायतमा पानीको स्रोत छैन त्यसलाई पहिलो प्राथमिकता दिने र स्रोत भएका स्थानमा पनि उचित व्यवस्थापनका लागि विस्तारै योजना लागू गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार फलामखानीमा सञ्चालित उक्त योजनाका लागि गाउँपालिकाले २८ लाख रुपैयाँ विनियोजन गरेको थियो भने पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाले बाँकी खर्च व्यहोर्ने सम्झौता भएको छ । गाउँपालिकाले योजना बनाउँदा दीर्घकालीन योजनालाई महत्व दिएकाले सबै वडाका बासिन्दा उत्तिकै लाभान्वित हुने पौडेलले जानकारी दिए ।




