२ असोज, पर्वत । आगामी मंसीर २१ गते हुने प्रदेश र संघको निर्वाचनमा पर्वत कांग्रेस भित्र आकाक्षीहरुको संख्या धेरै देखिएको छ । देशको पुरानो पाटी भएकाले पुराना नेताहरुको संख्या धेरै भएपनि युवा पुस्ताले पनि पार्टी भित्र चुनावमा उमेदवार हुने आकाक्षाहरु राख्न थालेका छन । देशले जिल्लाका सवै ठाउँमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेको छ ।
तराई क्षेत्रमा सम्पन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसंगै अव प्रदेश र संघको चुनावका बारेमा आम चासो शुरु भएको छ । यसै वीच नेपाली कांग्रेस पर्वतमा संघको प्रतिनिधि सभाका लागि हुने निर्वाचनमा एक मात्र दावेदारको रुपमा सांसद अर्जुन जोशीलाई हेरिएको छ । तीन पटकसम्म जनमत जितेर सांसद बनेका जोशीले भने आफू चुनावमा लड्न तयारको तर कार्यकर्ता र पार्टीका नेताहरुको मनोभावना पछि मात्रै निर्णय गर्ने बताए पनि उनको विकल्प छैन ।
उनलाई नेपाली कांग्रेसले केन्द्रिय निर्वाचनका लागि उमेदवार बनाउने निश्चित प्रायः छ । नेपाली कांग्रेस पर्वतमा निकै बलिया नेताको रुपमा जोशी चिनिन्छन । पछिल्लो समय मन्त्री पदको अन्तिम राउण्डमा फालिएपछि उनको चर्चा यतिबेला देशभरी चुलिएको छ । केन्द्रिय निर्वाचनमा नेपाली कांग्रेसबाट पर्वतमा जोशीको उमेदवारी निश्चित जस्तै बनेकाले एमालेबाट जोशीलाई टक्कर दिने नेतालाई उठाउने अनुमान गरिएको छ ।
राजनैतिक इतिहासमा लामो अनुभव भएका र जनताका माझ सधै लोकप्रिय नेताको छवि बनाउने गरी योजनाहरु कार्यान्वयनको चरणमा लागेका कारण जोशीलाई टक्कर दिने गरी एमाले भित्र गणेश शर्मा पौडेल वा गणेश तिमिल्सीनालाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । यद्यपि दुवै जनाले अहिले नै संघको निर्वाचनमा आफूहरुको उमेदवारी घोषणा नगरेका कारण जोशीसंगका प्रतिस्पर्धीको निक्यौल भईसकेको छैन । संघको निर्वाचनमा एमालेबाट सांसद विकास लम्सालले आकाक्षा राखेका छन ।
प्रदेशको निर्वाचनका लागि भने पर्वत क्षेत्र न १ मा पार्टी पुर्व सभापति लालकाजी गुरुङ, कांग्रेसका जिल्ला नेताहरु युवराज जोशी, डा. चूडामणी शर्मा, विद्धान गुरुङ बसन्तकुमार सिके लगाएतको नाम चर्चामा छ । ति मध्ये एक जनालाई नेपाली कांग्रेसले उमेदवार बनाउने सम्भावना छ । गुरुङ कांग्रेसका पुराना नेता हुन । एक कार्यकाल सभापति पद सम्हालेका गुरुङसंगै उमेदवारको चर्चामा जोशी पनि छन । शिक्षण पेशापछि राजनीतिमा सक्रिय शर्मा र सिकेलाई पनि आकाक्षीको रुपमा हेरीएको छ भने युवा पुस्ताका नेता गुरुङ तरुण दलको केन्द्रिय कोषाध्यक्ष भएकाले पनि उनलाई प्रदेश सांसदको दरो आकाक्षीको रुपमा लिइएको छ । उनीहरुको मध्ये एकको प्रतिस्पर्धाका लागि एमाले भित्र भने एमाले जिल्ला अध्यक्ष पदम गिरीलाई प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।
क्षेत्र न २ मा भने नेपाली कांग्रेसबाट यस अघि फलेवास नगरप्रमुखमा दावेदार रहेकी राधाकुमारी क्षेत्री, पार्टी सचिव युक्त श्रेष्ठ, फलेवास नगरपालिकाको प्रमुख पदमा पराजय भएका गंगाधर तिवारी, पुर्व सांसद ऋषीकेश तिवारी, खगेन्द्र तिवारी र नेता राजेन्द्र तिवारीको चर्चा छ । उनीहरु मध्ये एक जनाले टिकट पाउने सम्भावना छ । यद्यपि यस अघिको दोस्रो संविधान सभाको निर्वाचनमा क्षेत्र न २ मा उमेदवार बनेका नेता नवराज गुृरुङ पनि संघ छाडेर प्रदेशको निर्वाचनमा चुनाव लड्ने भएमा उनले क्षेत्र न २ को टिकट पाउने प्रवल सम्भावना देखिन्छ । यदि गुरुङलाई समानुपातिक वा क्षेत्र न १मा उमेदवार बनाएमा भने क्षेत्र न २ मा अरु नेताहरुले अवसर पाउनसक्नेछन ।




