२५ भदौ, पर्वत । बाघको आक्रमणमा परि पर्वतमा एक जना घाईते भएका छन । घाईते हुनेमा जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ खुरकोटका महेश्वर शर्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए ।
खुरकोटकै कालिका माध्यमिक विद्यालयका शिक्षक समेत रहेका पौडेललाई शनिबार साँझ अन्दाजी ६ बजेको समयमा आप्mनै घरको आँगनमा बाघले आक्रमण गरेको हो । उनको अनुहार, हात र खुट्टामा चोट लागेको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले बताए ।
घरमा रहेको कुकुरलाई आक्रमण गर्ने क्रममा बाघले शिक्षक पौडेलमाथि पनि आक्रमण गरेको हो । घाइते शिक्षक पौडेलको जिल्ला अस्पताल पर्वतमा उपचार गरी थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । नगरपालिका अन्तर्गत खुरकोटका बासिन्दाहरु पटक पटक बाघको आक्रमणमा पर्दै आएका छन ।
झण्डै एक बर्ष अगाडि पनि शिक्षक पौडेलकै घरभन्दा केही माथिको घरमा राती १० बजेको समयमा शौचालयमा जाने क्रममा बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको थियो । त्यस बाहेक पनि पशु चौपाया माथि भने बाघले पटक पटक आक्रमण गर्ने गरेको स्थानीय बासिन्दाको भनाई छ ।




