Print

कालिगण्डकीको बहावले तर्साउदै माझी परिवार

३१ पर्वत, साउन । कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन्। गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरबार गुमाएका उनीहरु पुनः यसवर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन्।

निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि यहाँको एक माझी बस्तीका बासिन्दा त्रसित बनेका छन्।

मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन्। केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकी कहाँ बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय गणेश माझीले जानकारी दिए। कतिबेला पूरै घर बगाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको उनले बताए।

भूकम्पका कारण हल्लिएको पहाडबाट खसेको पहिरोले बस्ती पुरिएपछि पुनः बसोबासका लागि सो ठाउँ अनुपुक्त भएको थियो।

स्थानीय सुकुम्बासी गणेश माझीले वर्षायाममा पानी पर्दा भिर पहरो र कालीगण्डकी नदी हेरेर बस्नुको विकल्प नभएको बताए। उनले भने।, ‘जाने ठाउँ अन्त कतै छैन, ढुक्कसँग बस्न कहिल्यै पनि पाइएको छैन।” पहिरो गएको बेला स्थानीय प्रशासन र सुरक्षा निकायले पन्छाउने काम गरे पनि बैकल्पिक उपाय नदेखाएको उनले गुनासो गरे।

वर्षा हुँदा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनबहादुर माझीले बताए। उनले भने, ‘ बगरमा रहेको घर कतिबेला बगाउने हो केही टुंगो छैन।’ उनीहरुले वर्षेनी पुनर्वासको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताएका छन्।

उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेशा बंगुरपालन र बालुवा निकाल्ने हो। बालुवामा निर्भर भएका उनीहरु आर्थिक अभावका कारण उक्त स्थानबाट स्थानान्तरण हुन नसकेकाले बैकल्पिक बासस्थानको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाई माग गरेका छन्।

यता जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र विपत्ति आउने अवस्था देखिएमा प्रहरी प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको कार्यालयले जनाएको छ।

यसैगरी दक्षिण पर्वतको सेतीवेणीमा पनि नदीको बहाव बढेको छ। तर कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधका सबै ढोका पूर्णरुपमा खोलिएकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। वर्षा निरन्तर भएकाले परियोजनाका सबै ढोका खोलिएको बताइएको छ।