३१ साउन, पर्वत । पोखराका दुई र पर्वतका एक युवा अफगानिस्तानमा २८ महिनादेखि अलपत्र परेका छन्। पोखरा बाटुलेचौरका हेमप्रसाद गुरुङ, विजयपुरका गोविन्द पौडेल र पर्वतका मीनबहादुर क्षेत्रीलाई कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु अढाई वर्षदेखि अलपत्र परेका हुन्।
मासिक एक हजार डलरको प्रलोभनमा अफगानिस्तान छिरेका उनीहरु कम्पनीबाटै निकालिएपछि सहयोगका आशमा छन्।
राम्रो कमाइ हुने प्रलोभनमा परेर अफगानिस्तान पुगेका ३ जनालाई भिसाको मिति नथपी १० महिनामै कम्पनीले कामबाट निकालिदिए पछि सहयोगको योचना गरेका छन्। पर्वतका क्षेत्री र बाटुलेचौरका गुरुङले अमरसिंह चोकमा रहेको एसजी मरिन म्यानेजमेन्ट प्रालि नामक मेनपावरका म्यानेजर सन्तोष गुरुङलाई ठूलो रकम बुझाएका थिए।
विजयपुरका पौडेलले दिल्लीमा रहेका दलाल भरत अधिकारी क्षेत्रीलाई रकम बुझाएर अफगानिस्तान छिरेको उनीहरुले इमेलमार्फत जानकारी दिएका छन्।
अमरसिंहको एसजी मरिन म्यानेजमेन्ट प्रालि नामक म्यानपावर बन्द भइसकेको छ भने दलाल भरत अधिकारी पनि सम्पर्कबाहिर छन्। भिसा थप नभइ कामबाट निकालिएपछि आफूहरु ठगिएको भन्दै विभिन्न सरोकारवाला निकायमा उनीहरुले जानकारी पठाएका छन्। अलपत्र नेपाली कामदार यतिबेला असुरक्षासँगै गाँस न बासका भएका छन्। सुविधासम्पन्न अमेरिकी कम्पनी भनेर अफगानिस्तान छिरेका उनीहरु अहिले खुला आकासमुनि रात गुजार्दै छन्।
नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान छ। एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्टसमेत जफत गरेको छ। उद्दारका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, पाकिस्तानस्थित दूतावासमा उनीहरुले कैयौं पटक इमेल पठाएको इमेलमार्फत नै जानकारी दिएका छन्।




