Print

पर्वतमा देउवा समूह र मन्त्रीको लिस्टमा जोशीको चर्चा

(समाचार विश्लेषण)

११ साउन, पर्वत । ‘मोहन आचार्य’ विद्यार्थी राजनीतिमा सक्रिय योद्धा । राजनीति मार्फत समाजीक जीवनमा सक्रिय आचार्य विद्यार्थी राजनीतिमा जिल्लामा लोकप्रिय नाम हो । नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक यात्रा शुरु गरेपनि उनको यात्रामा धेरै पटक विश्राम लाग्यो । नेपाली कांग्रेसमा तत्कालीन कोइराला समूहले देउवा समूहलाई देशै भर पेल्ने अवस्था थियो । पर्वतमा पनि देउवा समूहबाट राजनीतिमा सक्रिय बनेका आचार्यलाई तत्कालीन कोइराला निकट समूहले राजनीतिमा अगाडि बढनबाट रोक्ने प्रयास गरे । त्यो सफल जस्तै पनि बन्यो ।

‘राम शर्मा’ पर्वतको राजनीतिमा सम्भावना वोकेका ब्यक्ति । जिल्ला विकास समितिको उप सभापतिको जिम्मेवारी समेत बहन गरीसकेका उनी पनि देउवा निकट भएकै कारण जिल्लामा जिम्मेवारी विहिन बने । जिल्लाको नेतृत्वमा पटक पटक अपेक्षा राखेपनि उनी सफल छैनन ।

राजनीतिका समकालीनहरु पटक पटक मन्त्री भएपनि जिल्लामा महाधिवेशन प्रतिनिधि समेत जानबाट रोकिएका नेता नवराज गुरुङ देउवा समूहमा लागेका कारण पिडित बनेका पर्वतका अर्का नेता हुन । उनी राजनीतिको शुरुवाती काल देखि नै देउवा पक्षधर मानिन्छन ।

देउवा समूहका उनी पार्टीको धुव्रीकरण पछि बनेको प्रजातान्त्रिक समूहबाट पार्टीको जिल्ला सभापति समेत बने । पार्टीको एकिकरण पछि पनि सभापति पदमै रहेपनि उनको भूमिकालाई गौण प्रायः बनाइयो । पछिल्लो पल्टको संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ बाट उमेदवार बन्न अवसर पाएपनि उनी सफल बनेनन । जिल्लामा नेपाली कागं्रेसको राजनीति सधै तत्कालीन कोइराला समूहको नियन्त्रणमा देखिन्छ । तत्कालीन कोइराला समूहका अगुवा नेता अर्जुन जोशी नेपाली कांग्रेस पर्वतमा पटक पटक सभापति समेत भए । १ पटक ब्यवस्थापीका संसदको चुनाव र २ पटक संविधान सभामा उनी पर्वतबाट विजयी बने ।

यी यस्ता अरु धेरै पात्रहरु छन जो देउवा समूहमै लागेका कारण राजनीतिमा उदाउन सकेका छैनन ।

३ पटक विजयी बनेका जोशी नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनबाट समूह परिर्वतन गरी देउवा निकट बने । झण्डै दुई दशक कोइराला निकट जोशी महाधिवेशनको संघारमा देउवा समूहमा लागेपनि उनी निकट जिल्लाका नेताहरु भने समूह परिर्वतनमा सहमत भएनन । पछिल्लो महाधिवेशनमा कोइराला समूहको नाम परिर्वतन भयो र पौडेल समूह बन्यो । गिरिजाप्रसाद कोइराला पछि शुशिल कोइरालाले सम्हालेको कोइराला नेतृत्व शुशिल कोइरालाको मृत्युसगै समूहको सो समूहको नेतृत्व पौडेलले गरेका हुन ।

जोशीले समूह परिर्वतन गरेको विषयमा गृह जिल्ला पर्वतमा कार्यकर्ता चर्को आलोचना गरेपनि जोशीले कार्यकर्तालाई भने जिल्लामा त्यसको ठूलो प्रभाव देखिएन । पछिल्लो समय देउवा प्रधानमन्त्री भएपछि जोशीको नाउँ देउवा समूहबाट मन्त्री हुने अन्तिमसम्मको लिस्टमा थियो ।

जव मंगलबारको मन्त्री परिषद विस्तार रोकियो र बुधबार स¥यो । मंगलबार बेलुवा देखि जोशीको नाम देउवाको लिस्टबाट हटयो । उनको ठाउँमा गोर्खाका चिनकाजी श्रेष्ठको नाम थपियो । बुधबार विहानसम्म पनि श्रेष्ठको नाम खासै सार्वजनिक भएन । जोशीकै चर्चा चलिरह्यो तर मन्त्रीहरुको सपथ ग्रहण हुनु आधा घण्टा मात्रै अगाडि जोशीको ठाउँमा महेन्द्र यादवको नाम थपियो । उनी खानेपानी तथा शहरी विकास मन्त्री भए ।

यसलाई गृह जिल्लामा देउवा पक्षका नेताहरुले स्भाविक रुपमा लिएका छन । देउवा समूह प्रति लामो समय राजनीतिमा कट्टर ब्यवहार देखाएका कारण देउवालाई जोशीलाई मन्त्री बनाउन हुन्न भन्ने केन्द्रिय स्तरमा ठूलो दवाव रह्यो जिल्लाका देउवा पक्षधर नेताहरुको भनाई छ । अर्को तर्फ जिल्ला पौडेल पक्षधर मानिने नेताहरुले समूहगत लिस्टमा भन्दा पनि लामो समयसम्मको जोशीको राजनीतिका योगदानका आधारमा जोशीलाई मन्त्री बनाउनुपर्ने बताउँछन ।

कांग्रेसको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा पनि जोशीको चर्चा थियो मन्त्रीमा । यो दोस्रो पटकको चर्चामा पनि जोशी मन्त्री बनेनन । यसले गृह जिल्ला पर्वतका कांग्रेस समर्थित कार्यकर्ताहरु भने निराश छन । जोशी देउवाको लिस्टमा परेपछि मंगलबार विहादै देखि जोशीलाई मन्त्रीको शुभकामना र बधाई सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको थियो । यद्यपि देउवालाई उनलाई अन्तिम समय लिस्टबाट फालेर मन्त्री हुने चाहना माथि कुठराघात गरे ।
पर्वतले भने यस पटक पनि मन्त्री जस्तो महत्वपूर्ण पद हत्याउन सकेन । जिल्लाले क्याविनेट मन्त्री पाएमा विकासका कुनै न कुनै पहलदमी चालिने थियो । यद्यपि यस पटक पनि जिल्लाले मन्त्री पद नपाउँदा जिल्लाबासी भने निराश बनेका छन ।