१० साउन, पर्वत । कुस्माबजारमा ठुला पशु चौपाय बध गर्ने अत्याधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । कुस्मामा झण्डै दुई करोडको लगानीमा बसेल पशु बधशाला निर्माणको अन्तिम चरणमा पुगेको हो । बधशाला साउनको अन्तिम सम्ममा सञ्चालनमा आइसक्ने छन ।
बसेल ताजा मासु पसलका सञ्चालक शिबलाल सार्कीले सञ्चालन गर्न लागेको पशु बधशाला ठुला पशु बध गर्ने पश्चिमाञ्चलकै सबैभन्दा ठुलो र अत्याधुनिक बधशाला हो । सार्कीले कुस्माबजारमा ब्यबस्थित बधशालाको अभाबमा फोहोर ठाउँमा असुरक्षित हिसाबले पशु बध गर्दै आएका कारण ब्यबस्थित र अत्याधुनिक बधशाला निर्माण गरिएको बताए । ‘असुरक्षित हिसाबले फोहोर ठाउँमा बध गरिएको मासु खाँदा स्वास्थ्यमा असर परिरहेको छ’ उनले भने ‘कुस्मा लगायत बागलुङ्ग , बेनी र पोखरा सम्म स्वस्थकर मासु उपलब्ध गराउन आधुनिक बधशालाको आवश्यकता अब पुरा भएको छ’
कुस्माबजारको जिरो किमी नजिक निर्माण भएको बधशाला ठुला पशुलाई बध गर्ने आधुनिक तरिका देखि सफा गर्ने र काट्ने काममा पनि पुरै सुरक्षित र आधुनिक प्रबिधी जडान गरिएको छ। यहाँ तयार गरिने मासु डिफ्रिजमा राखेर पोखरा सम्म पठाउने र बिक्री गर्ने ब्यबस्था मिलाइएको सार्कीले बताए ।
बधशाला सार्कीको जमिन र आफ्नो लगानी गरि डेढ करोड खर्च भैसकेको छ भने पशुपंक्षी बजार प्रर्बद्धन आयोजनाले ५० लाख रुपैया अनुदान समेत दिएको छ । बधशाला सञ्चालनमा आएपछि दैनिक रुपमा २० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य उनले राखेका छन ।
जिल्ला पशु सेवा कार्यालय पर्वतका प्रमुख डा. सुधिरकुमार थापा राँगो भैँसी जस्ता ठुला पशु बध गर्ने पश्चिमाञ्चलकै आधुनिक र ठुलो पशु बधशाला कुस्मामा निर्माण भएको बताउँछन । अहिले सम्म कुखुरा बध गर्ने कोल्डस्टोर्सहरु धेरै निर्माण भएपनि ठुला पशुबधशाला निर्माणमा ध्यान नगएकाले कुस्मामा शुरु गरिएको उनले बताए । ‘ठुला पशु बध गर्ने आधुनिक र ठुलो लगानीको बधशाला यही हो’ उनले भने ‘अब यहाँ बध गरिएको मासु पोखरा सम्म पु¥याउने ब्यबस्था गर्न आवश्यक छ’
बसेल मासु पसलका सञ्चालक शिबलाल सार्कीले यो बधशाला साना दुःखले भने बनाएका छैनन । पहिले पनि सानो स्केलको बधशाला निर्माण गरेका सार्कीलाई उद्योग बाणिज्य संघ र स्थानिय प्रशासनले दिन सम्म दुःख दियो । मुद्दा मामिला गरे, उनको पक्षमा फैसला पनि भयो तर स्त्री चौपाय बध गर्न भएको फैसला स्थानिय प्रशासनले कार्यान्वयन नै गरेन । यति भएपछि पनि उनले आफ्नो अभियान नछाडी अहिले पश्चिमाञ्चलमै उत्कृष्ट र आधुनिक बधशाला निर्माण गर्न सफल भएको बताए ।
बधखालाको स्केच यस्तो छ





