९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहने भएकाले मंगलबार सरकार बिस्तार हुने भएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको डेढ महिना भइसक्दासमेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । संविधान संशोधन प्रक्रियामा जानुअघि राजपा, राप्रपा, संघीय समाजवादी फोरमलगायत दललाई पनि समावेश गर्न प्रयास गर्नुपर्ने भएकाले ढिलाइ भएको प्रधानमन्त्री देउवा निकटका नेताले बताउँदै आएका छन् ।
सरकार विस्तारका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् । सरकार विस्तारकै लागि आइतबार देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो ।
माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, सीता नेपाली, गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, टेकराज बस्नेत, आशा कोइराला मन्त्री बन्ने भएका छन् । शाही ऊर्जा, पोखरेल स्वास्थ्य, श्रेष्ठ सामान्य प्रशासन, मण्डल सिँचाइ, बस्नेत कृषि विकास, नेपाली महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बन्ने बुझिएको छ । कोइरालालाई कुन मन्त्रालय दिने भन्ने सहमति भइसकेको छैन ।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलबीच आइतबार नै छलफल भएको थियो । पौडेलले आफ्नो पक्षबाट मन्त्री हुनेको नाम बुझाइसकेका छन् । जसमा बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, बद्री पाण्डेको नाम समावेश भएको स्रोतको भनाइ छ । यस्तै, मोहनबहादुर बस्नेत र भीमसेनदास प्रधान क्रमशः खुमबहादुर र सिटौला पक्षबाट मन्त्री बन्दैछन् ।
प्रधानमन्त्री देउवाले आफ्नो समूहबाट अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत र मिन विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् ।
प्रधानमन्त्रीले राप्रपालाई छुट्याएको चार मन्त्रालय आफैंले राख्ने भएका छन् । राप्रपा तत्काल सरकारमा समावेश नहुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकबाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बन्दैछन् ।




