२४ असार, पर्वत । कुश्मा नगरपालिका वडा न १ का नारायण पौडेलको मृत्यु रहस्मय बन्दै गएको छ । डिएनए परिक्षणबाट कालीगण्डकी नदीमा भेटिएको वेवारिसे शव नारायण पौडेलको भएको पुष्टिसंगै उनको मृत्यु रहस्यमय बनेको हो । काठमाण्डौंमा गरिएको पोस्टमार्टम समेतको रिर्पोटमा पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण भएको हुनसक्ने उल्लेख भएपछि पौडेलका परिवारले पौडेलको मृत्यू हत्याबाट भएको भन्दै प्रहरीमा निवेदन दिएका छन ।
प्रहरी नायव उपरिक्षक शेखर खनाल भन्छन–‘परिवारको निवेदनको समेत आधारमा अनुसन्धान शुरुवात गरिएको छ ।’ पौडेल कुश्मा नगरपालिका वडा न ९ स्थित कटुवाचौपारी स्थित आइबल एकेडमी नामक नीजि विद्यालयमा अध्यापनरत थिए । विद्यार्थीलाई यातना दिएको भन्दै अभिभावकले भेटन बोलाएको केहि बेरमा वेपत्ता भएका पौडेलको मृत्यु हत्या वा आत्महत्याबाट भएको हो भन्ने विषयमा छानवीनका लागि प्रहरीले विद्यालयका अभिभावकलाई नियन्त्रणमा लिएको छ ।
गत जेठ २५ गते देखि उनी परिवारको सम्पर्कमा थिएनन । २४ गते उनले विद्यालयका २ जना विद्यार्थीलाई परिक्षामा कम अंक ल्याएको भन्दै यातना दिएको विद्यालय प्रशासनले जनाएको छ । आफ्ना विद्यार्थीलाई यातना दिएको भन्दै विद्यार्थीका परिवारले २४ गते शिक्षक पौडेललाई माफी माग्न लगाएका थिए । त्यसको भोलिपल्ट पुनः विद्यालयमा छलफलका लागि बोलाएपनि आधा घण्टामा आउन्छु भनेर फोन उठाएका पौडेल त्यसपछि बेपत्ता बनेका हुन । विहान झण्डै ११ः३० बजेदेखि उनी सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृत्युका बारेमा थप अनुसन्धानका लागि विद्यार्थीका अभिभावक देउकुमार श्रेष्ठ र चन्द्रमान प्रधानलाई नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीले सोधपुछका लागि भन्दै विद्यालयका प्रिन्सिपल विमल पौडेललाई समेत नियन्त्रणमा लिएको छ । ३ जना माथि नै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । कुश्माको शिवालय माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनिएनका प्राक अध्यक्ष समेत थिए । यसैवीच अनेरास्वीयू पर्वतका प्रचार विभाग प्रमुख लकाश सुवेदीले घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन ।
शव छतविक्षत अवस्थामा फेला पर्नु, शरीर माथि निल डामहरु देखिनु, अंगप्रत्यङहरु काटिएको अवस्थामा देखिनु र घाँटीमा चोट देखिनुले पौडेलको हत्या नै भएको हुनसक्ने परिवारका सदस्यहरुले बताएका छन । उता, प्रहरीले भने आरोपित र संकास्पद ब्यक्तिहरुको टेलिफोन विवरण समेत संकलन गरी उनीहरु माथि गहिरो अनुन्धान गरीरहेको बताएको छ । अनुसन्धानबाट देखिएको यथार्थ विवरण छिट्टै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट हालसम्म हत्या वा आत्महत्या भन्ने विषयमा ठोस प्रमाण जुटन नसकेका कारण अनुसन्धान भने थप जटिल बन्दै गएको देखिन्छ । कोठाबाट दिउँसो ११ः३० बजे देखि वेपत्ता पौडेललाई त्यसपछि भेटेका वा देखेका कोहि पनि बयानका लागि तयार नभएका कारण अनुसन्धान जटिल बन्दै गएको प्रहरी श्रोत बताउँछ । उनी कुश्माको मेलमिलाप चोक स्थित एक घरमा भाडामा बस्दै आएका थिए । अभिभावको अन्तिम फोन आउँदा कोठामै भएको बताइदै आए पनि उनको मोवाइल भने दिउँसो झण्डै ३ बजेदेखि सम्पर्कमा छैन । २५ गतेबाट सम्पर्कमा नआएका उनको खोजी भने परिवारले त्यसको २ दिनपछि मात्र गरेको थियो ।




