८ असार, पर्वत । पर्वतमा धान रोपाईको चटारो शुरु भएको छ । मानो खाएर मुरी उब्जाउने महिना असार महिनाको पहिलो सातासम्म पर्वतमा १० प्रतिशत रोपाई सकिएको छ । यस वर्ष समयमै वर्षायाम शुरु भएकाले पर्वतका ग्रामीण क्षेत्रहरुमा रोपाई गर्न भ्याईनभ्याई भएको हो । जिल्लाका सवैजसो क्षेत्रमा रोपाई शुरु भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
जिल्लाको खौलालाकुरी, ठुलीपोखरी, कार्कीनेटा, शालिजा, देउपुर, शंकरपोखरी, बाच्छा, होश्राङ्दी, लुंखुदेउराली, देउपुर, देउराली लगायतका स्थानमा धान रोपाई शुरु भएको हो । त्यसैगरी लुंखुदेउराली, बालाकोट, त्रिवेणी, हुवास लगायतका साविकका गाविसमा पनि रोपाई भएको छ । सवैभन्दा बढि मोदी गाउँपालिकामा रोपाई भएको कार्यालयले जानकारी दिएको छ ।
वर्षासँगै खोलानाला पनि बढेकाले रोपाई गर्न शुरु गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । यस वर्ष जेठको अन्तिम सातादेखिनै वर्षा भएकाले जिल्लाका ७ स्थानिय तहका सवै वडाहरुमा कृषहरुलाई रोपाई गर्न भ्याईनभ्याई भएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । यस वर्ष असार महिनाभित्रनै रोपाई सकिने अनुमान कार्यालयको छ । असारमै रोपाई सकिए र साउन महिनाभर वर्षा निरन्तर भैरहे उत्पादनमा पनि दोब्बरले बृद्धि हुने अनुमान गरिएको छ ।
पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये बाहै महिना सिंचाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ । पर्वतमा ठुला सिंचाई योजनाहरु निर्माण भएकाले धेरै जमिनमा बाहै«मास सिंचाई हुन सक्ने जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ । सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।




