२८ जेठ, पर्वत । ठेकेदार कम्पनीले काममा हेलचेक्र्याईं गर्दा जिल्लाका दुई नगरपालिका जोड्ने मुख्य सडक कालोपत्रेको काम समयमै सम्पन्न नहुने भएको छ । ०७१ फागुनदेखि शुरु दोबिल्ला–फलेवास सडक कालोपत्रेको सम्झौता मिति सकिन दुई महिना मात्रै समय बाँकी रहँदा ६० प्रतिशत पनि काम हुन सकेको छैन । सडक बिभागको लगानीमा ७१ फागनमा ३ किलोमिटर कालोपत्रे शुरु भएको थियो ।
शुरुमा ३ मिटर मात्रै चौडा कालोपत्रे हुने भनिए पनि सडक बोर्डले उक्त सडकको चौडा ६ मिटर पु¥याएपछि अघिल्लो स्टमेटको ३ किलोमिटर १७ सय मिटरमा झरेको थियो । उक्त काम सम्पन्न नहुँदै थप ७ किलोमिटरका लागि १० करोड रकम बिनियोजन भएपछि सिल्मी–मुडिकुवा कालोपत्रेको काम अघि बढेको हो । आउँदो साउन मसान्तसम्म सक्नेगरि आशिष फेवा जेभि कन्स्ट्रक्सनले ७१ असार मसान्तमा सम्झौता गरेको थियो । सम्झौतामध्ये ७ किलोमिटर सडक अहिलेसम्म कालोपत्रेको अन्तिम चरणमा पुग्नुपर्ने हो । तर, कम्पनीकै आधिकारिक प्रतिनिधि निलकुमार राईले ६० प्रतिशत मात्रै प्रगति भएको बताउनुभयो ।
अबको २ महिनामा जनशक्ति बढाएर भए पनि १०० प्रतिशत प्रगति हासिल गर्ने उहाँले दाबी गर्नुभयो । सडक डिभिजन कार्यालय बाग्लुङका साइड इन्जिनियर उज्वल शर्माले अपेक्षित प्रगति नभएको बताउनुभयो । निर्माण कम्पनीले सम्पन्न भएको दाबी गरेका अधिकांस क्षेत्रको नाली पुनः मर्मत गर्नुपर्ने छ । कटुवाचौपारी क्षेत्रको अधिकांस नाली पुरा नहुँदै भत्किएपछि स्थानीय उपभोक्ताहरुले कामको गुणस्तरमै प्रश्न उठाएका छन् ।
दोबिल्ला–फलेवास सडक कालोपत्रे भएपछि जिल्लाका मुख्य आर्थिक केन्द्र मानिएका कुश्मा र फलेवास नगरपालिकाको विकासको ढोका खुल्ने स्थानीयको अपेक्षा छ । फलेवास क्षेत्रको कृषि उत्पादन, फलफुल, पशुजन्य उत्पादन सदरमुकाम हँदै मुलुकका अन्य जिल्लासम्म पु¥याउन सहज हुने मुडिकुवाका थानेश्वर भुषालले बताए । त्यस्तै औद्योगिक क्षेत्र बिस्तार गर्न र मझौला उद्योग सञ्चालनमा समेत बाटो खुल्ने कुश्माका व्यवसायीले बताएका छन् ।




