२५ जेठ, पर्वत । स्थानीय तहको अधिकारलाई केन्द्रिकृत गर्ने गरी मन्त्रालयबाट सचिव स्तरीय सर्कुलर जिल्लामा शुरु गरेको भन्दै नवनिर्वाचित फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विरोध जनाएका छन । विहिबार पत्रकार महासंघ पर्वत शाखाले राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले जननिर्वाचित प्रतिनिधिको कार्यमा हस्तक्षेप हुनेगरी केन्द्रबाट आउने परिपत्रहरुको कुनै तुक नरहेको स्पष्ट पारेका हुन ।
संविधानले तोकेबमोजीम बाहेकको सिमा नाघेर सचिवस्तरीय निर्णय भन्दै जिल्ला समन्वय समितिमा आएको परिपत्रको विरोध गर्दै नगरप्रमुख शर्माले संविधान विरोधी गतिविधिको खुलेर विरोध गर्ने बताए । संविधानले स्थानीय तहहरु स्वतन्त्र र स्वायत्त हुनेगरी निर्णय गरेका कारण केन्द्रले गर्ने निर्देशनहरु संविधानसंग बाँझिन नहुने बताए । नगरप्रमुख शर्माले समन्वय समिति आफैले गिटि, बालुवा र सवारी कर लिने गरी सचिवस्तरीय निर्णयबाट आएको परिपत्रको उदाहरण दिदै कर लिने, कर नीति बनाउने सवै अधिकार स्थानीय तहसंग हुने भएकाले स्थानीय तहको अधिकार माथिको केन्द्रिय हस्तक्षेपको देशभरबाटै बिरोध हुने चेतावनी समेत दिए ।
राज्यको पुर्नसंरचनासंगै स्थानीय तहलाई संविधानले धेरै अधिकार दिएपनि विभिन्न खाले सर्कुलरहरु मार्फत अधिकार कटौति हुनेमा आशंका गर्दै शर्माले जनताको अधिकार माथि कसैले पनि कुठराघात गर्न नहुने जिकिर गरे ।
सञ्चार क्षेत्रको विकासमा आफूले नेतृत्व गरेको नगरपालिका सधै संवदेशिल रहने बताउदै स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका निकै उत्कृष्ट रहेको दावी गरे ।
उता, पैयूगाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले भने वडा सचिवहरुले अझै पनि शासकको ब्यवहार देखाएको आरोप लगाए । कर्मचारीहरु कहिल्यै पनि जनताका शासक हुन नसक्ने भन्दै जननिर्वाचित प्रतिनिधि नै शासक रहेको कुरा कर्मचारीले भुलिरहेको खुलासा गरे । उनले वडा कार्यालयका सचिवहरुले जनप्रतिनिधिको भूमिकालाई गौण राखेर निर्वाचन अघिको जस्तो शासन गर्ने दौडमा रहेका कर्मचारीहरुलाई कार्यालय प्रयोजनको काममा मात्र खटिन निर्देशन दिएको समेत बताए । ‘जनताद्धारा निर्वाचित ब्यक्ति शासक हुन सक्छ’ उनले भने–‘शासकीय पद्धति नवुझेकाहरुलाई राज्यले पनि शासकीय विधि बुझाउनुपर्नेछ ।’
अन्तरक्रिया कार्यक्रममा मोदीगाउँपालिका प्रमुख प्रेम पौडेलले सुचना प्राप्त गर्नु नै तर्क गर्ने सवैभन्दा ठूलो साध्य रहेको भन्दै जनप्रतिनिधिहरु सुचनाका पहुँचबाट सधै नजिक रहनुपर्ने बताए । ।श्रोत र साधनको समुचित प्रयोग गर्न पनि सुचना पाउनु पहिलो दायित्व सम्बन्धित ब्यक्तिको रहेको भन्दै उनले सञ्चार क्षेत्रको विकास नेपालमा धेरै दु्रतगतिमा भएको बताए ।
उता, महाशिला गाउँपालिका अध्यक्ष राजु पौडेलले स्थानीय तहको सरकार आफैले जनतालाई सुशुचित गर्ने दायित्व वहन गर्नेपर्ने बताउदै गाउँतहसम्म सञ्चार माध्यमको विकास हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कुश्मा नगर उपप्रमुख सिता काप्लेले सञ्चार माध्यमको सहयोग गर्न आफू सधै तयार रहेको बताईन । जलजलागाउँपालिका प्रमुख सिमा गर्बुजाले कृषिमा धेरै सम्भावना बोकेको जलजलागाउँपालिका कृषि कर्म मार्फत समुन्नत हुने विश्वास ब्यक्त गरिन ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, निर्वतमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुर्व अध्यक्ष ओम घायल लगाएतले पनि मन्तब्य ब्यक्त गरे । कार्यक्रमको अध्यक्षता अध्यक्ष छविलाल तिवारी स्वागत उपाध्यक्ष प्रनिश गिरी र सञ्चालन पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले गरेका थिए ।





