Print

अवरुद्ध लमायखोला–लुंखु सडक खण्डमा कालोपत्रेको प्रक्रिया यसरी शुरु भयो

२५ जेठ, पर्वत । ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको सहयोगमा कालोपत्रे हुने लमायखोला–लुंखु सडकको कालोपत्रेको प्रक्रिया शुरु भएको छ । कालोपत्रे कार्यको अवरुद्ध प्रक्रिया जननिर्वाचित प्रतिनिधिहरुको पहलमा शुरु भएको हो । महाशिला गाउँपालिका वडा न ५ लुंखुका वडा अध्यक्ष जीवन उचै ठकुरीका अनुसार निर्वाचित प्रतिनिधिको पहिलो वैठकले आब्हान गरेबमोजीम एडिवि मार्फतको वातावरणीय विशेषज्ञ टोलीले बुधबार सडकको अध्ययन शुरु गरेका छन ।

एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका ठकुरी भने–‘विविध कारणले अवरुद्ध बनेको सडक कालोपत्रे हाम्रो पहिलो दायित्व हो ।’ सम्बन्धित निकायमा ध्यानाकर्षण गरेको एक महिना नवित्दै कालोपत्रेको कार्य शुरु भएको उनले पर्वत न्यूज डटकमलाई जानकारी दिए । कालोपत्रे कार्यका लागि वातावरणीय विशेषज्ञको टोलीले बुधबार फलेवास नगरपालिकामा छलफल समेत गरेको छ ।

लमायखोला देखि लुंखुसम्म कुर्घाको खण्ड पर्छ । फलेवास नगरपालिका भित्रको कुर्घा खण्डमा स्थानीयको अवरोध सडक निर्माण गर्दा नगर्ने गरी एमालेको तर्फबाट निर्वाचित कुर्घाका वडा अध्यक्ष देवेन्द्र पौडेलले प्रतिबद्धता ब्यक्त गरेका छ । पौडेलले सडक कालोपत्रे हुँदा फलेवास नगरपालिका, महाशिला गाउँपालिका र पैयूगाउँपालिकाका जनताले सेवा पाउने भएकाले उक्त सडकलाई जसरी पनि कालोपत्रे कार्य गर्ने गरी आफूहरु लागी परेको पर्वत न्यूज डटकमलाई जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय पर्वतका इन्जिनियर शिव बरालले यस अघि नै सर्वे भएर निर्माण कार्यको पर्खाइमा रहेको उक्त सडकले अव गति लिने विश्वास ब्यक्त गरे ।

झण्डै ३० करोडको अनुमानित लागमा उक्त सडक कालोपत्रे हुने भएको हो । करिब १० किलोमिटर लम्बाई रहेको उक्त सडक कालोपत्रे भएपछि दक्षिण पर्वत सदरमुकामसंग प्रत्यक्ष रुपमा जोडिने विश्वास लिइएको छ । उक्त सडक मध्ये मुडिकुवा झकलक सडकको कालोपत्रेको काम भईरहेको छ । उक्त खण्डमा ग्रामीम पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना अन्तर्गत नेपाल सरकारको रकम खर्च हुनेछ ।