Print

पर्वतका ७ वटै राज्य प्रमुखहरुको कुश्मामा यसरी भयो जमघट

 २४ जेठ, पर्वत । नवनिर्वाचित पर्वतका ७ वटै स्थानीय तहका प्रमुख एव्म उपप्रमुखहरुको कुश्मामा विहिबार वृहत जमघट भयो । जिल्ला समन्वय समितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमका सन्दर्भमा स्थानीय राज्यको रुपमा रहेका उनीहरुको जमघट भएको हो ।

समितिको आयोजनामा आज भएको कार्यक्रममा उनीहरुलाई सम्मान सहित वधाई ज्ञापन गरिएको हो । कार्यक्रममा बोल्दै जनप्रतिनिधीहरुले जिल्लाको विकासमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावका बेला जुनसुकै पार्टिको रुपमा चुनाव लडेपनि अव भने साझा रुपमा काम गर्ने उनीहरुको वताएका छन् ।

जिल्ला मानव विकास सुचकाँकमा ११ औँ स्थानमा रहेको अवस्थामा अव भने यो स्थान उछिन्ने गरि काम गर्ने नयाँ जनप्रतिनिधीहरुले वताएका छन् ।

प्रमुख तथा उपप्रमुखहरुले आफ्ना योजनाहरु समेत प्रस्तुत गरेका थिए । स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले जिल्लालाई दु्रत रुपमा विकासको दिशामा हिँडाउन आग्रह गर्नुभयो । भुसालले सबैको साझा संकल्प भयो भने पर्वत जिल्ला सबै आयामवाट अगाडी वढ्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय निकायमा छिट्टै अपुग कर्मचारी परिपूर्ती गर्ने र वैँक खाता सञ्चालनको गृहकार्य भैरहेको भुसालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,उपप्रमुख सिता काफ्ले लामिछाने, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी,पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, उपाध्यक्ष डम्वरकुमारी गुरुङ, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हिरा राना, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन लगायतले आफ्ना प्राथमिकताका विषय र आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो ।


स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जिल प्राविधिक कार्यालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारी र सञ्चालन जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक परिचालन अधिकृत प्रकाश लम्सालले गर्नुभएको थियो ।

यसैगरी पर्वत उद्योग बाणिज्य संघले पनि वधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्लाका सातवटै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहको थियो । उनिहरुले स्थानिय तहको आर्थिक, सामाजिक लगायत चौतर्फि विकासका लागि निजि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब ठाकुरबि पौडेलले गर्नुभएको थियो ।