Print

पर्यटकीय बजार बिरेठाँटीलाई जोखिममा पार्दै यसरी निर्माण हुँदैछ पर्वतको भुकमा मध्य मोदी जलविद्युत आयोजना

२१ जेठ, पर्वत । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ ।

आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।

समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन ।
विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हुँदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पुर्याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र्र गौचनले बताए ।

मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युत्को व्यवस्थापन पक्षसंँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताए ।
तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए ।