११ वैशाख, पर्वत । माओवादी केन्द्रले पर्वतको कुश्मा नगरपालिकामा उमेदवार टुंगाएको छ । कुश्मा नगरपालिकाको प्रमुखमा नगर कमिटि अध्यक्ष शंकर गिरी र उप–प्रमुखमा तारादेवी रिजाललाई उमेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको नगर कमिटि वैठकले गिरी र रिजाललाई सर्वसहमत प्रमुख र उप प्रमुख बनाउने निर्णय गरेको नगर कमिटि अध्यक्ष गिरीले पर्वत न्यूजलाई जानकारी दिए ।
माओवादी र नेपाली कांग्रेस वीच निर्वाचनमा तालमेल हुने गरी सम्बाद भईरहेको समाचार आइरहेको बेला माओवादी केन्द्रले आफ्ना उमेदवार टुंगाएको हो । माओवादी केन्द्रको तर्फबाट नगरपालिकाका १४ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरुको अन्तिम टुंगो भने केहि दिनमा लगाउने बुझिएको छ ।
उता, नेकपा एमालेले महाशिला गाउँपालिमा उमेदवार टुंगाएको छ । महाशिला गाउँपालिकाको प्रमुखमा नेकपा एमाले पर्वतका पुर्व उपाध्यक्ष समेत रहेको एमाले नेता राजुप्रसाद पौडेललाई गाउँपालिका प्रमुखमा सर्वसहमत निर्णय भएको एमालेले जनाएको छ । नेकपा एमालेको विजयी सुनिश्चित जस्तै मानिएको उक्त क्षेत्रमा एमालेले गाउँपालिका उप प्रमुख भने केहि दिनमै टुंगाउने गरी आन्तरीक छलफल भईरहेको बुझिएको छ ।




