Print

कुश्माको नारायण माविमा विद्यार्थी चाप बढ्यो, भर्ना हुन विद्यार्थीले पूर्व परिक्षा दिनुपर्ने

सामुदायिक विद्यालयमा विद्यार्थी नभएका कारण विद्यालय भर्ना अभियान चलाएर विद्यार्थी खोजि भईरहेको बेला पर्वतको एक सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप थामि नसक्नु भएको छ । पर्वतको सदरमुकाम कुस्मामा रहेको नारायण उच्च माद्यामिक विद्यालयमा माध्यामिक तहसम्म अंग्रेजी माद्ययमा पढाई हुन थालेसँगै विगत ५ वर्षदेखि विद्यार्थीको चाप बढेको बढ्यै छ ।

विद्यालयमा विद्यार्थीको चाप उच्च भएपछि भर्ना गर्न समेत रोक्नु परेको विद्यालयका प्रधानाध्यापक अम्बिका लोहनीले जानकारी दिनुभयो । विद्यालयले लामो समयदेखि आफ्नो शैक्षिक अवस्थमा सुधार ल्याएसँगै अहिले नीजि बोर्डिङ स्कुल छाडेर आउनेको संख्या उच्च रहेको उहाँले बताउनुभयो ।

विद्यार्थीको संख्या उल्लेख्य बढेसँगै विद्यालयलाई समेत समस्या भएको छ । सिमित भौतिक पूर्वाधार र सिमित शिक्षक दरबन्दीका कारण विद्यालयमा विद्यार्थी भर्ना लिन समेत समस्या भएको प्रअ लोहनीले जानकारी दिनुभयो । बिद्यालयमा भवन र शिक्षक अभावका कारण विद्यार्थीको भर्ना लिन समस्या भएको छ उहाँले भन्नुभयो सरकारले उचित व्यवस्थापन नगर्दा समस्यामा परेका छौं ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्न थालेपछि सो विद्यालयले विगत ८ वर्षदेखि शैक्षिक सुधार योजना र अंग्रेजी माध्यममा शिक्षा शुरु गरेपछि अहिले विद्यार्थीको चाप धान्नै मुस्किल हुन थालेको प्रअ लोहनीले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यार्थीको चाप बढेपछि संख्या कम गराउन प्रवेश परिक्षा लिईएको विद्यालयले जनाएको छ । यस वर्ष मात्रै विभिन्न विद्यालयबाट १ सय ५० भन्दा बढि विद्यार्थीहरु भर्नाका लागि आवेदन दिएको र आईतबार प्रवेश परिक्षा लिईएको थियो ।