६ वैशाख, पर्वत । पुल नगरी कुश्मामा पाँचौ अग्लो झोलुंगे पुल निर्माण हुने भएको छ । पर्वतको कुश्मा र बागलुङको बलेवा क्षेत्र जोड्ने गरी उक्त झोलुंगे पुल निर्माण हुने भएको हो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले उक्त झोलुंगे पुललाई चालु आर्थिक बर्ष २०७३/०७४ देखि निर्माण गर्ने गरी अगाडि बढाएको छ ।
कुश्मा नगरपालिका वडा न १ पाङ देखि बागलुङ नगरपालिका वडा न १ बलेवा जोड्ने गरी उक्त झोलुंगे पुल निर्माण हुने भएको हो । पुल निर्माणका लागि सरकारले पहिलो चरण अन्तरगत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरीसकेको छ । उक्त पुललाई टेण्डर प्रक्रिया मार्फत आगामी २ बर्ष भित्र सम्पन्न गरिनेछ ।
पुल निर्माणको लागि अनुमानीत रकम २ करोड विनियोजन भईसकेको छ । विज्ञहरुले तयार गरेको लागत विवरणको स्टिमेट विभाग मार्फत जिल्लामा अनुमोदनका लागि प्राप्त भएपछि थप कार्य अगाडि बढने जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ । उक्त पुल निर्माण भएपछि भने पाङ र बलेवा क्षेत्र प्रत्यक्ष रुपमा जोडिनेछन । निर्माणधिन कालीगण्डकी करिडोर पाङ क्षेत्रका बासिन्दाका लागि नजिक पर्ने छ ।





