४ चैत्र, पर्वत । आगामी वैशाख ३१ गते सरकाले स्थानीय तहको निर्वाचन तोकेको छ । राजनैतिक बृत्तमा आश्चर्यजनक घटना नभए अवको चौथो हप्तामा नेपालमा १९ वर्षपछि स्थानीय तहको निर्वाचन हुनेछ । निर्वाचन नजिकिदै जाँदा भने, स्थानीय तहको नेतृत्वका लागि उमेदवारी सार्वजनिक गर्ने क्रम बढेर गएको छ । मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेमा उमेदवारी घोषणा गर्नेको भीड छ । उता, माओवादी केन्द्रमा पार्टी टुटफुटका कारण सिमित नेतृत्वका कारण उमेदवारीको भिड नभएपनि देशका अन्य दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेमा भने निर्वाचनमा नेतृत्वका लागि उमेदवारहरुको लर्को नै लागेको छ ।
देशमा चुनावी सरगर्मी बढेर गएको बेला पर्वतको फलेवास नगरपालिकाको नेतृत्वका लागि प्रमुख र उप प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट दुई महिलाको दाबा बलियो देखिएको छ ।
नगरपालिकाको प्रमुख पदका लागि महाधिवेशन प्रतिनिधिद्धय राधा कुवंर क्षेत्री र मुना भुषालको उमेदवारीले चर्चा बटुलेको छ । राज्यले महिलालाई निर्णायक तहमा पुराउने उद्देश्यका साथ प्रमुख वा उपप्रमुख मध्ये कम्तिमा एक पदमा महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरेसंगै उमेदवारीमा दावा गर्ने महिला नेतृको संख्यामा पनि बृद्धि भएको हो ।
सामाजिक अभियानका कतिपय कार्यहरुमा महिलाले नेतृत्व गर्दा पारदर्शीतापूर्वक आयोजनाहरु पुरा भईरहेको बेला महिलालाई नेतृत्व दिँदा नेतृत्वमा भ्रष्टचार प्रबृत्तिमा कमी आउने र नेतृत्वमा इमानदारीता बढ्ने भएका कारण पनि महिलाको नेतृत्व दावा यतिबेला बलियो बन्दै गएको देखिन्छ ।
सरकारले उपभोक्ता समितिहरुमा समेत महिला प्रतिनिधित्व अनिवार्य गरेसंगै कतिपय आयोजनाहरुमा भ्रष्टचार कम भएको देखिएको छ । यहि परिवेशमा आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृहरुको उमेदवारी दावाले चर्चा बटुल्न सफल भएको हो ।
पार्टीमा लामो समय काम गरेका पुरुष नेताहरुका वीचमा छोटो समयमा पनि आफूलाई चर्चित बनाएका फलेवास नगरपालिकाका क्षेत्री र भुषालले आफूहरुलाई नेपाली कांग्रेसले उमेदवारको टिकट दिएमा इमानदारीताका साथ नेतृत्व गर्ने गरी अगाडी बढ्ने बताएका छन ।
विद्यार्थी कालदेखि राजनैतिक गतिविधिहरुमा सक्रिय बनेकी क्षेत्री पछिल्लो पल्ट नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट पर्वतमा चर्चामा आएकी हुन । महाधिवेशनमा राजनैतिक हस्तीहरुलाई पराजीत गर्दै विजयी भएकी उनले आफ्नो शिक्षण पेशामा राजीनामा दिएर नगरप्रमुखमा दावा गरीरहेकी छिन ।
उता विद्यार्थी राजनीतिबाटै नेपाली काँग्रेसमा होमिएकी भुषाल नेपाल विद्यार्थी संघ र तरुण दल हुदै नेपाली कांग्रेसमा सक्रिय छिन । नेपाल विद्यार्थी संघ पर्वत जिल्ला कार्यसमितिको कोषाध्यक्ष, गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै नेपाली काँग्रेसको १२औं महाधिवेशनमा क्षेत्रीय सदस्य र नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका साथ विजयी भएकी भुषालले पनि महिलाले नेतृत्व पाएमा उदाहरणीय बनेर काम गर्ने अठोटका साथ नेतृत्वको दावा गरीरहेकी छिन । भुसाल हाल तरुण दलको केन्द्रीय पार्षद समेत हुन् ।
उता फलेवास नगरपालिकाको नेतृत्वका लागि पुरुष नेताहरु गंगाराज शर्मा, युक्त श्रेष्ठ, थमनसिंह थापा र कृष्ण गौडेलले पनि नेपाली कांग्रेसको तर्फबाट नेतृत्वका लागि भने दावा प्रस्तुत गरीरहेका छन । उमेदवारी दावा गर्ने नेता तथा नेतृहरुका वीच नेपाली कांग्रेसले कस्लाई नगरप्रमुख र उपप्रमुखको उमेदवार बनाउँछ भन्ने आम चासोको विषय भने बनिरहेको छ । (समाचार विश्लेषण)




