३० चैत्र, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले नेतृत्व गरेको सरकारले ल्याएको बजेट कार्यान्वयन गर्दा आर्थिक बृद्धिदर २५ बर्षकै उच्च भएको छ । ओली सरकारकाले ३० प्रतिशत बजेट मात्र कार्यान्वयन गर्दा प्रचण्ड नेतृत्वको सरकारले आर्थिक बृद्धिदर २५ बर्षकै उच्च बनाउन सफल भएको हो । ओलीले ल्याएको बजेट हुवहु सवै प्रतिशत कार्यान्वयन गर्न सकेको खण्डमा थप आर्थिक बृद्धि हुने देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार गठन भएपछि २५ वर्षयताकै बढी आर्थिक वृद्धि भएको बताएका छन् ।
प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक वृद्धिदर ६ प्रतिशत माथि पुगेको छ । मूल्यवृद्धि नियन्त्रण भएको छ । मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य भएको छ । मुलुकको सम्पूर्ण आर्थिक परिसूचकमा उल्लेख्य सुधार आएको छ ।’
नेकपा माओवादी केन्द्र ललितपुर महानगरपालिकाको एकता सम्मेलन एवम् निर्वाचन विशेष कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री एवम् सो पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले जनताका पक्षमा काम गरिरहेको दावी गरे ।
प्रधानमन्त्री दाहालले आफूले जनताको सेवा, देशको विकास र समृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छा शक्ति हुने हो भने केही वर्षमा देशको मुहार फेर्न सकिने बताए । उनले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेन्डा आफ्नो पार्टीले मात्रै संस्थागत गर्नसक्ने बताए ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस, नेकपा एमालेलगायतका दलसँग स्थानीय निर्वाचनका लागि कुनै पनि एजेन्डा नै नभएको भन्दै माओवादी केन्द्रसँग सकारात्मक एजेन्डा पर्याप्त रहेको स्पष्ट पारे ।
जनताको प्रमुख माग र एजेन्डा भएको पार्टी माओवादी मात्रै रहेको भन्दै उनले जनताको मुद्दा कार्यान्वयनका लागि माओवादी केन्द्र चुनावमा जित्नुपर्ने बताए । सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मधेस, दलित जनजातिलगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले स्थानीय तहको निर्वाचन जित्नुपर्नेमा जोड दिए ।
उनले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारमा रहेको सत्तालाई गाउँगाउँ पुर्याउने काम माओवादी केन्द्रको एजेन्डाकै कारण सम्भव भएको बताए । स्थानीय तहको निर्वाचन आफ्नो सरकारका कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धि गुम्नसक्ने आशङ्का व्यक्त गरे ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, हितमान शाक्य, विश्वभक्त दुलाल, प्रवक्ता पम्फा भुसाललगायतले राजनीतिक एजेन्डा संस्थागत गर्न र मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान आफ्नो पार्टी विजयी हुनुपर्ने र त्यसको आधारसमेत तयार भएको बताएका थिए ।





प्रतिकृया दिनुहोस्