१२ चैत्र, पर्वत । जिल्लामा चालु आर्थिक बर्ष सहित अघिल्लो दुई बर्षमा २ सय १७ क्षयरोगका विरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट परिक्षणका क्रममा हालसम्म २ सय १७ क्षयरोगका विरामी भेटिएको र २ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आर्थिक बर्ष ०७१/७२ मा ८१ जना क्षयरोगका विरामी भेटिएको र सोही बर्ष १ जनाको मृत्यु भएको थियो भने गत आर्थिक बर्ष २०७२/७३ मा १ सय जना क्षयरोगका विरामी भेटिएको र एकको मृत्यु भएको थियो । चालु आर्थिक बर्षको माघ सम्मको तथ्याङ्गमा समेत ३६ जना विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका क्षयकुष्ट निरिक्षक जनार्दन गिरीले कालीगण्डकीलाई जानकारी दिए ।
अघिल्ला बर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै खकार परिक्षण गरेर क्षयरोगका विरामी पत्ता लगाउने गरेपनि गत बर्षबाट जिल्लाको देविस्थान, त्रिवेणी, रानीपानी, ठुलिपोखरी र लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत खकार परिक्षण गर्न डट्स सेवा शुरु गरिएपछि विरामीहरु स्वास्थ्य संस्थासम्म आउने र चेक जाँच गराउने गरेको उनले बताए । अझैपनि डर त्रास र लाजका कारण सवै विरामीहरु सम्पर्कमा आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस्ता विरामीहरुका लागि प्रभावित क्षेत्रमा नै आकस्मिक घुम्ती शिविर सञ्चालन गरेर परिक्षण गर्ने गरिएको छ ।
चालु बर्षमा जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जिल्लाको फलेवास नगरपालिका अन्तर्गतको पाङराङमा शिविर सञ्चालन गरेको र ३३ जनाको खकार परिक्षण गराएको निरिक्षक गिरीले बताए । ‘शिविरमा भेटिएका विरामी तथा सिधै स्वास्थ्य संस्थासम्म आएका विरामीलाई औषधी सेवन र अन्य सुझावहरु प्रदान गर्दै आएका छौँ’ उनले भने ‘यति हुँदा हुँदैपनि धेरै विरामीहरुले औषधी विचैमा छाड्ने समस्या बढी रहेको छ ।’
औषधी निरन्तर सेवनका लागि सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनले बताए । विशेषत पर्वतको दक्षिणी क्षेत्रमा क्षयरोगका विरामीहरु बढी रहेका छन् । उक्त क्षेत्रका कतिपय विरामीहरु स्याङजा, पोखरा, पाल्पा लगायतका स्वास्थ्य संस्थाहरुमा सिधै जाने गरेपनि जिल्लाको अन्य क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा बढी समस्या देखिएको छ ।





प्रतिकृया दिनुहोस्