Print

पर्वतका अगुवा नेता स्थानीय तह वा प्रदेश मध्ये कहाँ चुनाव लड्ने तयारी गर्दैछन ?

१२ चैत्र, पर्वत । वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा उमेदवारहरुले आफ्नो उमेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । केहि अगुवा नेताहरुको नाम सञ्चार माध्यमले अग्रीम सार्वजनिक गरेपनि केहि ओझेलमा परेका पात्रहरुले भने आफ्नो उमेदवारी आफै घोषणा गरीरहेका छन । नेपालमा लामो समय पछि हुन लागेको स्थानीय निर्वाचन यसैपनि आम चासोको विषय हो ।

अर्को तर्फ, राज्यको पुर्नसंरचना भएका कारण पुर्नसंरचित संरचनामा हुने चुनाव सवैको लागि कौतुहलता भने यसै पनि बनिरहेको छ । चुनाव हुने या नहुने भन्ने द्धिविधाका बाबाजुद पछिल्ला राजनीतिक घटनाक्रमहरुले चुनाव हुन्छ भन्ने सन्देश दिएका कारण पनि चुनावी मैदानमा उत्रनका लागि अगुवा नेता तथा कार्यकर्ताहरु तयारी अवस्थामा रहेको देखिन्छ । राज्यले यतिबेला ३ तहको संरचनाको कल्पना गरेको छ । स्थानीय, प्रदेश र केन्द्र । स्थानीय तहलाई संविधानमा अधिकार सम्पन्न बनाएका कारण अधिकांश नेताहरु स्थानीय निर्वाचनमा चुनाव लड्ने गरी तयारी गरेको बुझिन्छ ।

उता, केहि नेताहरुलाई कार्यकर्ताले स्थानीय निर्वाचनमा चुनाव लड्ने गरी सुझाब दिएपनि उनीहरुले प्रदेश वा केन्द्रको चुनाव लड्ने गरी तयारी गरेको बुझिन्छ । कार्यकारी भूमिका स्थानीय तहमा हुने भएपनि उनीहरुले प्रान्तीय निर्वाचनमा उठ्ने गरी तयारी गरीरहेका छन ।

नेकपा एमालेका नेता गणेश पौडेल, पदम गिरी, पदमपाणी शर्मा, मोती पौडेल र भक्त कुवंर प्रदेशको चुनावका समेत आकाक्षी हुन । तर उनीहरुले प्रदेशमै चुनावमा उठ्ने वा स्थानीय निर्वाचनमा जुट्ने भन्ने निक्यौल भने अझै पनि गरेका छैनन । पार्टी अध्यक्ष समेत रहेका नेता गिरीे निर्वाचनमा हाक्ने अभिभारा भएकाले आफूले यस पटकको निर्वाचनको तयारीमा नरहेको बताएका छन । उनलाई भने कार्यकर्ताहरुले कुश्मा नगरपालिकाको प्रमुखको रुपमा हेरिरहेका छन । सक्षमताको हिसावले उनलाई कार्यकारी अधिकार सम्पन्न नगरपालिकामा उठ्न कार्यकर्ताको दबाब रहेपनि उनले भने प्रदेश वा केन्द्रमा आकांक्षा ब्यक्त गरेको बुझिन्छ ।

उता, अर्का नेता गणेश पौडेल दुई पटक संसदीय निर्वाचनमा चुनाव लडेका कारण उनलाई केहि कार्यकर्ताले प्रदेशमै जान र केहिले स्थानीय निर्वाचनमा उठ्न सुझाब दिएका छन । उनले भने कार्यकर्ताको चाहना भएमा स्थानीय तहको निर्वाचनमा पनि आफू आकाक्षी हुनसक्ने संकेत गरेका छन । नगरपालिकाको प्रमुखको दाबा गरीरहेका मेघनाथ सुवेदीले नगरपालिकको उमेदवार नबनेमा प्रदेश निर्वाचनमा समेत दाबा गर्नेसक्ने देखिन्छ । उता, राजु पौडेल र मित्रलाल बस्याललाई पनि स्थानीय तहको निर्वाचनमा उमेदवार नबनाएमा प्रदेशसभामा आकाक्षा ब्यक्त गर्नेछन ।

जिल्ला सचिव समेत रहेको शर्मा पनि अन्यौल देखिन्छन । भूगोलका कार्यकर्ताहरुले प्रदेशमा जान सुझाब दिएको र अन्य कार्यकर्ताले स्थानीय निर्वाचनमा तयारी गर्न सुझाब दिएका कारण उनले अझै पनि आफ्नो योजना सार्वजनिक गरेका छैनन । उनी प्रदेशका आकाक्षी भने हुन । मोती पौडेललाई प्रदेशकै आकाक्षीको रुपमा हेरिएपनि शक्तिशाली फलेवास नगरपालिकाको प्रमुखको पहिलो दावेदारको रुपमा हेरिएको छ । पहिलो संविधान सभाको निर्वाचनमा समेत उमेदवार बनेका उनले पार्टीले प्रदेश वा स्थानीय तह मध्ये एक स्थानमा जिम्मा दिएमा आफूले जिम्मेवारी पूरा गर्ने बताउँदै आएका छन । पूर्ण गौतमले पनि फलेवास नगरपालिकामा आकाक्षा देखाएका छन उनले नगरपालिकामो उमेदवार हुन नपाए प्रदेशस्तरीय निर्वाचन आफ्नो रोजाइ बनाएका छन ।

पार्टी उपाध्यक्ष भक्त कुवंर अन्यौलमा छन । मोदी गाउँपालिकामा सम्भावित प्रमुखका उमेदवार भनेर सञ्चारमाध्यममा छाएका उनी पुरानो संरचनामा जिल्ला सभापतिको उमेदवारको रुपमा हेरिन्थ्यो । राज्यको पुर्नसंरचनासंगै उनले प्रदेशमै चाहना राखेपनि प्रदेशमा दावेदारको संख्या धेरै हुने भएकाले पनि उनलाई स्थानीय निर्वाचनमा लड्न कार्यकर्ताको दबाब देखिन्छ ।

नेपाली कांग्रेसका पार्टी सभापति खिमप्रसाद भुषालको नाउँ पनि विहादी गाउँपालिकामा आएको छ । तर उनले आफू त्यस पदको दाबेदार नरहेको स्पष्ट पारेका छन । पार्टी अध्यक्ष समेत बनेका कारण स्थानीय स्तरमा गएर चुनाव लड्ने मानसिकता उनी नरहेको बुझिन्छ । उनले सम्भावित प्रान्तीय निर्वाचन वा केन्द्रीय निर्वाचनका लागि अपेक्षा गरेको बुझिन्छ । पार्टी सचिव विश्वप्रकाश प्रसाई प्रदेश सरकारका आकाक्षी हुन । यद्यपि मोदी गाउँपालिकामा प्रसाईको राजनैतिक उचाईका कारण उनले स्थानीय निर्वाचन आफ्नो पोल्टामा पार्नसक्ने अनुमानका साथ उनलाई उक्त क्षेत्रको गाउँपालिका प्रमुखको रुपमा सञ्चार माध्यमले लिएका छन । तर उनले भने, आफूले प्रान्तीय सरकार सञ्चालनको चाहना राखेका कारण स्थानीय निर्वाचन आफ्नो योजनामा नरहेको बताएका छन ।

पार्टीमा लामो समय काम गरेका नवराज गुरुङको चर्चा भने सेलाएको छ । उनी दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ का उमदेवार बनेका थिए । कुश्मा नगरपालिकका स्थायी बासिन्दा उनी पनि प्रदेश सरकारका कांग्रेसका दाबेदार हुन । उनलाई स्थानीय निर्वाचनमा कतै पनि चर्चा गरिएको छैन । कांग्रेसका गंगा तिवारी र खगेन्द्र तिवारी स्थानीय तहका आकाक्षी हुन । उनीहरु स्थानीय तहमा निर्वाचन लड्ने वातावरण नबनेमा प्रदेश राज्यको चुनावमा तयारी गर्नेछन ।

नेपाली कांग्रेसका सांसद अर्जुन जोशी, एमालेका सांसद विकास लम्साल, एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना मध्येको प्रान्तीय निर्वाचनमा उठ्ने र को केन्द्रिय निर्वाचनमा उठ्ने भन्ने पनि चर्चा शुरु भएको छ ।

सरकारले तीन तहको निर्वाचन लगतै गर्ने गरी तयारी गरीरहेका कारण स्थानीय निर्वाचनमा टिकट नपाएका नेताहरुले प्रदेशमा चाहना राख्नेछन । प्रान्तमा आशा गरेका नेताहरु त्यहाँ चुनावमा उठन नपाए केन्द्रमा दाबा गर्नसक्नेछन । स्थानीय तह पछिको कार्याकारी अधिकार प्रदेशलाई दिएका कारण प्रान्तीय निर्वाचनमा पनि आकाक्षीको संख्या धेरै हुने सम्भावना छ ।  समाचार विश्लेषण

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस