Print

पर्वतमा ३ हजार जनामा हात्तिपाइलेका संक्रमण, औषधि सेवन आजबाट औपचारिक रुपमा शुरु

५ चैत्र, पर्वत । जिल्लमा कुल ३ हजार ६ सय जनामा हात्तिपाइले रोगको संक्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हाल कुल जनसंख्याको २ दशमलब ५ प्रतिशत जनतामा हात्तिपाइले रोगको संक्रमण भेटिएको हो ।

उक्त रोग विरुद्धको औषधि सेवन आजबाट औपचारिक रुपमा शुरुवात भएको छ । सातौ चरणसम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या शुन्यमा नझरेपछि पुनः आठौपटक अभियान संचालन गर्न लागिएको छ ।

चैत ५, ६ र ७ गते गरी तीन दिन सम्म अभियान संचालन गरिने भएको छ । जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ३६ हजार ७ सय १० जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर फणिन्द्र बरालले जानकारी दिए ।

अभियानका लागि ३ सय ८० जना स्वास्थ्यकर्मी र १ हजार ५० जना तालिम प्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ । त्यस्तै ६२ जना सहजकर्ता र २५ जना सुपरभाईजरलाई पनि खटाईने कार्यालयले जनाएको छ ।
दुई बर्ष भन्दा माथिका सबैजनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाईने भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बरालले जानकारी दिए ।

औषधि खाँदा केही लक्षण देखिने भएपनि पर्वतमा हालसम्म कुनै प्रकारको जटिल समस्या भने नदेखिएको कार्यालयले जनाएको छ । तर गर्भवती, सात दिन सम्मका सुत्केरी, दिर्घरोगीहरु र ७० बर्ष माथिका बृद्ध बृद्धाहरुलाई भने औषधी खुवाउन नहुने कार्यालयले जनाएको छ ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सोमवार एक पत्रकार सम्मेलन गरी अभियानका बारेमा जानकारी दिएको छ । जिल्लाका एक नगरपालिका र सवै गाविसमा उक्त अभियान एकैपटक संचालन गरिने भएको छ । कोहि पनि उक्त औषधी खानबाट बञ्चित नहोऊन भनेर सञ्चारकर्मीमार्फत सुचना प्रवाह गर्न उक्त सम्मेलन राखिएको हो ।

नेपालका २५ जिल्लाहरुमा छैटौ पटकसम्म खुवाएपछि अभियान सम्पन्न भएको छ भने पर्वत लगायत ३६ जिल्लामा अझैपनि संक्रमितको संख्या सुन्यमा नझरेपछि यो अभियान जारी रहेको छ । सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तिपाईले रोग उन्मुलन गराउने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस