१९ फागुन, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र लुंखु गाविसमा रहेको महाशिला यतिबेला पर्यटकको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको उक्त महाशिला हेर्नका लागि पर्यटकहरुको प्रतिक्षामा महाशिला रहेको छ ।
समुन्द्री सतह देखि १४ सय ५० मिटरको उचाईमा अवस्थित महाशिला पर्वतको प्रमुख पर्यटकीय गन्तब्यको सूचिमा छ । सदरमुकाम कुश्माबाट कच्चि सडक झण्डै ३ देखि ४ घण्टासम्म लाग्ने भएका कारण पनि पर्यटकको चाप भने न्यून देखिन्छ । जमिनको सतहमा उभिएर रहेको उक्त शिला १ लाख ३० हजार घन मिटरको रहेको स्थानीय जीवन उचै ठकुरी बताउँछन ।
हिन्दु धर्मको महिमासंग समेत जोडिएको उक्त महाशिलामा हिन्दु धर्मका देवता शिवले सवै दुष्टहरुलाई नाश गर्ने क्रममा युद्धका बन्दीको एउटा सिङ भाँचिएकाले त्यस स्थानमा छाँडिएको किन्बदन्तीका आधार उक्त शिलालाई पवित्र स्थलको रुपमा समेत मानिदै आइएको छ । उक्त स्थानमा तत्कालीन अवधिमा धु्ँवाकोटका राजाले महाशिलाको परिक्रम गरी युद्ध गर्दा विजय प्राप्त गरेको समेत किम्बदन्ती रहेको छ ।
उक्त शिलालाई मेलढुंगाको रुपमा समेत चिनिन्छ । शिलाको एक फन्को मार्दा एक माइल हिड्नुपर्ने भएकाले उक्त ढुगाको नाम मेलढुंगा समेत राखिएको स्थानीयबासी बताउँछन । पर्यटन प्रवद्र्धन केन्द्र पर्वतका अध्यक्ष शिव शर्मा पौडेलले पर्यटीय सम्भावना बोकेको भएर पनि प्रचार प्रसारको अभावमा उक्त स्थल पछाडी परेको बताउँछन ।
आन्तरीक र बाह्य पर्यटकलाई महाशिला घुम्ने आउने सेडुयलमा राख्नेगरी अझै प्रचार हुन नसकेको उनले बताए । निकै अदभूत दृश्य सहितको बिशाल चट्टान दक्षिण एसियाकै ठूलो रहेको भन्दै उनले आफ्नो संस्थाबाट समय समयमा प्रचार प्रसारका साना तिना प्रयास भएपनि त्यो नै काफी नभएको समेत बताए ।
स्थानीयबासी समेत रहेको एमाले नेता जीवन उचै ठकुरीले आगामी दिनलाई महाशिलालाई थप ब्यवस्थित बनाउन उक्त स्थानमा जाने बाटो निर्माणका लागि सासंद विकास लम्साल मार्फत प्रयास भईरहेको बताए । नित्य पुजा आजा समेत हुने उक्त स्थानमा बृहत्तर गुरुयोजना निर्माण गरी टाडाबाट पनि देखिने गरी रंग पोतन गर्ने र उक्त स्थानमा अन्य पर्यटकीय सम्भावनाका संरचनाहरु निर्माण गर्ने योजना समेत सुनाए । उक्त शिला लुंखु गाविसको वडा न २ म्यालुङ भन्ने स्थानमा रहेको छ ।






प्रतिकृया दिनुहोस्