Print

जलजलामा हाजिरीजवाफ प्रतियोगिता : जनकल्याण प्रथम

२ मंसिर, पर्वत । जलजला गाउँपालिकामा आयोजित अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय प्रथम भएको छ ।


विद्यार्थीहरूको ज्ञान, प्रतिभा र बौद्धिक क्षमता अभिव्यक्त गर्ने उद्देश्यले जलजला गाउँपालिका र पर्वत जलजला नेपाली कम्युनिटी अस्ट्रेलियाको आर्थिक साझेदारीमा प्रतियोगिता आयोजना गरिएको हो । जलजला गाउँपालिका–९, बनौँस्थित बनौँ माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक र रोचक बनेको प्रतियोगितामा कृष्णभवन माध्यमिक विद्यालय द्वितीय, विद्याज्योति माध्यमिक विद्यालय तृतीय र ग्रामप्रकाश माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् ।


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रथम भएको जनकल्याण माध्यमिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिताको रनिङ शिल्डसमेत हात पारेको छ ।


प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र निरन्तरता दिने उद्देश्यले रनिङ शिल्डको व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ । प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा विजेता विद्यालयले एक वर्षका लागि शिल्ड आफ्नो साथमा राख्न पाउनेछ । कुनै विद्यालयले लगातार तीन वर्षसम्म प्रतियोगितामा प्रथम स्थान हासिल गरेमा भने शिल्ड स्थायी रूपमा सोही विद्यालयको हुने व्यवस्था गरिएको छ ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजला गाउँपालिकाले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले हम्पाल क्षेत्रलाई शैक्षिक गतिविधिको केन्द्र अर्थात् शिक्षा क्षेत्रको हबका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए । अध्यक्ष आचार्यले भने, “हामीले हम्पाल क्षेत्रलाई शिक्षाको हबका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यस वर्ष नवप्रवर्तन (इनोभेसन) अन्तर्गत त्यहाँबाट सौर्यमण्डल, ज्योतिष विज्ञान र स्थानीय ठाउँको अध्ययनसम्बन्धी काम सुरु गर्ने तयारी गरेका छौँ । गाउँपालिकाले शिक्षालाई प्रमुख मुद्दाका रूपमा लिएर काम गरिरहेको छ । जनप्रतिनिधि र कर्मचारीहरूको अथक प्रयासका कारण विगतको तुलनामा गाउँपालिकाको शैक्षिक अवस्था क्रमशः अब्बल बन्दै गएको छ ।”


उनले आफूले गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । अष्ट्रेलियामा रहेका जलजलावासीहरूको सहयोगले प्रतियोगिता आयोजना गर्न सम्भव भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा बौद्धिक विकासका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । पर्वत जलजला नेपाली कम्युनिटी अस्ट्रेलियाले तत्कालका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको अध्यक्ष आचार्यको भनाइ छ ।


प्रतियोगिताको उद्घाटन शैलीसमेत फरक र प्रेरणादायी बनाइएको थियो । सामान्यतया प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गर्ने परम्परा रहे पनि यस कार्यक्रममा आयोजक विद्यालय बनौँ माध्यमिक विद्यालयकी छात्रा जसिता पुर्जाबाट उद्घाटन गराइएको थियो । गत शैक्षिक सत्र २०८२ मा विद्यालयभरिमै सर्वाधिक अंक प्राप्त गर्न सफल पुर्जालाई माला लगाएर कार्यक्रमको उद्घाटन गराइएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत सन्दिप काफ्ले, वडा अध्यक्ष गौ बहादुर पुन, लेखा अधिकृत अमृतप्रसाद रेग्मी, शिक्षा अधिकृत टंकनाथ पौडेल, सहायक शिक्षा अधिकृत देवी रिजाल तथा पर्वत जलजला नेपाली कम्युनिटी अस्ट्रेलियाका प्रतिनिधि नवीन जिसीलगायतको सहभागिता रहेको थियो ।


प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै विद्यालयस्तरमा अतिरिक्त शैक्षिक गतिविधि, ज्ञान अभिवृद्धि र बौद्धिक क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, विदेशमा रहेका गाउँबासी र स्थानीय सरकारबीचको सहकार्यबाट गाउँको शैक्षिक विकासमा नयाँ सम्भावना खोज्न सकिने उदाहरणका रूपमा समेत यस कार्यक्रमलाई लिन सकिन्छ ।


गाउँपालिकाका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक शिक्षा अधिकृत रिजालले गरेकी थिइन भने प्रतियोगी विद्यार्थीहरुलाई प्रतियोगितामा प्रश्न सोध्ने काम मोदी गाउँपालिकाको जननेत्र माध्यमिक विद्यालयका शिक्षक भूमिराज शर्माले गरेका थिए ।