११ भदौ, पर्वत । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्वतको मोदी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले सात दिन बराबरको तलब–भत्ता सहयोग गर्ने भएका छन्।
मोदी गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कार्यरत कर्मचारीको सात दिन बराबरको तलब–भत्ताको एकमुष्ट रकम १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो। सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यलाई तीव्रता दिइरहेको छ।
मोदी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
गाउँपालिकाले आफ्नो सहयोगबाट बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय, प्रभावकारी पहल र थप सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।
सरकारले पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको छ।




