पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब २ः३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा बिहादी गाउँपालिका–१, बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा लगिएकोमा उपचारकै क्रममा दिउँसो ३ः३९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक फलेवास नगरपालिका–११, पाङग्राङका ३६ वर्षीय मनबहादुर परियारसहित बिहादी गाउँपालिका–१, बाच्छा देउरालीकी २४ वर्षीया कविता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्।
घाइते चारै जनाको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ। अटो दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




