Print

मोदी खोलाले २ वटा पुल बाढीले बगायो, ३ जनाको उद्धार हुँदै, मध्यपहाडी लोकमार्गमा कटान

२९ साउन, पर्वत । गएरातिको वर्षाका कारण कास्की(पर्वत जोड्ने पुल बगेको छ । अन्नपूर्ण मन्दिर गएका ३ जना सर्वसाधारण त्यहीँ अलपत्र परेका छन् । उनीहरुको उद्धार भईरहेको छ ।

राति २ः१५ बजे कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा पर्ने नयाँ पुल–बिरेठाटी सडक खण्डको छेउ, मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिस अलपत्र परेका छन् । आवतजावत गर्ने दुई मेटलको पुल पर्वत र कास्कीतर्फ
सहित मन्दिरको आधा भाग समेत नदीले बगाएको छ ।

मन्दिरमा रहेका एकजना सन्त पुजारी र दुई भक्तजन त्यहीँ फसेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि सशस्त्रको २४ नम्बर कालिका गण कास्किबाट चार जना रोप रेस्क्यू र तीन जना गोताखोर सहितको घटनास्थल पुगेका छन् ।

यसै गरी मध्यपहाडी लोकमार्गको चुवा खण्डको सडकमा मोदी खोलाले क्षति पुराएको छ । यस अघि निर्माण गरिएको पक्कि तटबन्धन बगेको छ । नदीको बहाव सडक नजिकबाटै बगेको छ । सडकलाई जुनसुकै बेला पनि नदीले कटान गर्नसक्ने जोखिम बढेको छ ।