Print

पर्वतमा खाना पकाउने ग्यासको अझै हाहाकार

२७ साउन, पर्वत । पर्वतमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ । जिल्लाको मासिक मागको तुलनामा आपूर्ति निकै कम भएपछि उपभोक्ताले ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र पालो कुरेर मात्र सिलिन्डर पाउने अवस्था सिर्जना भएको छ ।

पर्वतमा एक महिनामा करिब ‘७ हजार सिलिन्डर खाना पकाउने ग्यासको माग हुने गरेको छ । तर पछिल्लो १५ दिनमा जिल्लामा करिब ‘३ हजार ३ सय सिलिन्डर मात्रै ग्यास भित्रिएको’ व्यवसायीहरूले बताएका छन् । मागको तुलनामा आपूर्ति पर्याप्त नहुँदा बजारमा ग्यासको अभाव देखिएको हो ।

पन्ध्र दिनमा ३ हजार ३ सय सिलिन्डर ग्यास भित्रिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । ग्यास बिक्री हुने डिपो तथा पसलमा सिलिन्डर बोकेर उपभोक्ता पुग्ने गरे पनि पर्याप्त ग्यास नहुँदा पालो लगाएर वितरण गर्नुपर्ने अवस्था छ । कतिपय उपभोक्ता बिहानैदेखि ग्यासको खोजीमा पसल–पसल धाउन बाध्य भएका छन् ।