Print

प्रक्रियामा अब्बल मोदी : गाउँ सभामा ४ बार्षिक प्रतिवेदन पेश


१० असार, पर्वत । जिल्लाको मोदी गाउपालिकाले विधि र प्रक्रिया सम्बत् गाउँ सभा सम्पन्न गरेको छ । गाउँपालिकाको १९ औं गाउँ सभालाई ब्यवस्थित गर्दै गाउँपालिकाले विधि सम्बत् गाउँपालिकाका विभिन्न प्रतिवेदनहरु समेत गाउँ सभामा प्रस्तुत गरेको छ ।

मंगलबार सम्पन्न गाउँ सभाका ३ वटा वैठकहरुमा गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट मात्रै पेश गरेन । गाउँ पालिकाका चालु आर्थिक बर्षको न्यायिक समितिको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरयो । गाउँ सभाका सदस्यहरु सामू बर्ष भरीमा न्यायिक समितिले गरेका महत्वपूर्ण कामहरुलाई पारदर्शीता पूर्वक सार्वजनि गर्ने उद्देश्यले उक्त प्रतिवेदन न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले गाउँ सभा समक्ष पेश गर्नुभएको हो ।

न्यायिक निरुपणका महत्वपूर्ण कामहरुलाई समावेश गरिएको प्रतिवेदनमा गाउँ सभा सदस्यहरुले अध्ययन पश्चात आफ्नो धारणा राख्न पाएका थिए । गाउँपालिकाले न्यायिक समितिको प्रतिवेदनसंगै राजश्व समितिको अध्ययन प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । उक्त प्रतिवेदन राजश्व समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष लामिछानेले नै गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाले सार्वजनिक लेखा समितिका संयोजक तथा वडा न ५ का वडाअध्यक्ष मानबहादुर अधिकारी मार्फत सार्वजनिक लेखा समितिको बार्षिक प्रतिवेदन समेत सभामा प्रस्तुत गरेको थियो । गाउँपालिकाले महालेखापरिक्षकको प्रतिवेदन लेखा समितिकै संयोजक अधिकारी मार्फत सभामा प्रस्तुत गरेको थियो ।

गाउँ सभा सदस्यहरुले बार्षिक रुपमा गाउँपालिकामा सम्पादन भएका बिषयगत समितिहरुको काम कारबाही समेतको अध्ययन गर्नका लागि बिषयगत समितिका प्रतिवेदनहरु समेत प्रस्तुत भएका थिए ।

गाउँ सभाको वैठकमा गाउँ सभाका सदस्यहरु राजेश शाही, बमहादुर मल्ल, लक्ष्मी विक, शान्ति विक लगाएतले आफ्नो धारणा राख्नुभएको थियो ।