वैशाख ७, पर्वत । मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा वित्तीय जोखिम न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्ने भएको छ।
गाउँपालिकाको कार्यालयले जारी गरेको पत्रअनुसार सहकारी संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणाली विकास, संस्थागत सवलीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालनका साथै वित्तीय अवस्थाको विश्लेषणसम्बन्धी अध्ययन अनुसन्धान गरिनेछ।
यस कार्यका लागि मोदी गाउँपालिकाको कार्यालय र राष्ट्रिय सहकारी बैंक लिमिटेड, ललितपुरबीच सम्झौता भएको जनाइएको छ। सोही सम्झौताअनुसार निकट भविष्यमा राष्ट्रिय सहकारी बैंकका निरीक्षणकर्ताहरू सहकारी संस्थाहरूको निरीक्षणका लागि आउने तयारी रहेको पत्रमा उल्लेख छ।
गाउँपालिकाले सबै सहकारी संस्थालाई आवश्यक कागजात तयारी अवस्थामा राखी निरीक्षण तथा अध्ययन कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ। मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ सम्बन्धित वडा कार्यालयहरूलाई समेत दिइएको छ।




