२५ फागुन, पर्वत । प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम अनुसार पर्वतबाट राष्ट्रिय स्वतन्त्र पाटीका सागर भुषालले विजयी हासिल गरेका छन् । उनले २६ हजार ५ सय ६१ मत ल्याउँदा नेपाली कांग्रेसका अर्जुन जोशीले १५ हजार ९ सय ५४ मत ल्याएका छन् । यो नतिजा संगै जोशीको प्रतिनिधि सभामा तेस्रो पराजयको रेकर्ड कायम भएको छ । लगातार ६ पटकसम्म प्रतिनिधि सभा निर्वाचनहरुमा उम्मेदवार बनेका कांग्रेस नेता जोशीले यस पटक पनि जित निकाल्न सकेनन् ।
मतदातासामू आफू सच्चिएर आएको र यो उम्मेदवारी अन्तिम पटक भएको भन्दै मत मागेका थिए । जोशीले कांग्रेस सुधारिएकाे भन्दै आफूलाई मत दिन मतदाताहरुलाई आग्रह गरीरहेका थिए । जोशि निकटहरुले यो पटक नै अन्तिम पटक निर्वाचनमा होमिएका जोशीलाई अन्तिम पटक मतदान गर्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका जोशी यस अघि ३ पटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
२०५६ सालमा पहिलो पटक जित निकालेका जोशीले २०६४ साल र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ बाट प्रतिनिधि सभामा विजयी हासिल गरेका थिए । यस पटक भने जोशीलाई उनकै पाटी तरुण दलको जिल्ला सचिव पद त्याग गरेका रास्वपाका भु्षालले पराजीत गरेका छन् । भुषाल यस अघि कांग्रेसको युवा संगठन तरुण दलका जिल्ला सचिव थिए । उनले तरुण दलको अध्यक्ष पदको आकाक्षा राखे पनि त्यो पद प्राप्त नभए पछि रास्वपा प्रवेश गरेको उनी निकटहरु बताउँछन् । छैटौ यात्रामा उनै भुषालले जोशीलाई रोेकेका छन् ।
उता, तेस्रो पटक जितको खोजीमा रहेका एमालेका नेता पदम गिरीको समेत यस पटक ब्रेक लागेको छ । २०७४ सालका बाम गठबन्धन सहितको आम निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका गिरीले २०७९ सालमा भएको कांग्रेस माओवादी गठबन्धनलाई समेत पराजीत गरेका थिए । तेस्रो पटक निर्वाचनमा होमिएका गिरीले यस पटक भने तेस्रो स्थान प्राप्त गरेका छन् । युवाहरु माझ लोकप्रिय र स्वच्छ छबि निर्माण गरेको भए पनि गिरी केपी ओली निकट भएका कारण मतदाताको रोजाईमा परेनन् । १५ हजार ७५ मत ल्याएका गिरी यस अघि पर्वत जिल्लाको पहिलो क्याविनेट मन्त्रीको जिम्मेवारीमा समेत थिए । एमालेको प्रमुख सचेत हुँदै राजनीतिक छविलाई उच्च बनाउँदे गरेका गिरी यस पटकको निर्वाचनमा भने रोकिएका छन् ।
जिल्लाको विकासलाई विज्ञ समूह बनाएर अघि बढाउने योजना सहित निर्वाचनमा होमिएका नेपाली कम्युनिष्ट पाटीका उम्मेदवार मनोहरी तिमिल्सीना (शर्मा)को भने जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत उनले कटाउन सकेनन् । शर्माले ४ हजार ५ सय ५७ मत ल्याएका छन् । जिल्लामा कुल ६६ हजार ७ सय २७ मत मध्ये कुल सदर मत ६३ हजार २ सय ३ को १० प्रतिशत तिमिल्सीनाले कटाउन सकेनन् । प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयको जिम्मेवारी रहेका तिमिल्सीनाले यस पटक आफूले आफैलाई समेत मत हाल्न पाएका थिएनन । कास्कीको पोखरामा उनको मतदाता रहेका कारण उनले आफूलाई मत हाल्न नपाएका हुन् । जिल्लामा बाँदर नियन्त्रण देखि विकास निर्माणको समग्र खाका लिएर मतदातासामू पुगेका तिमिल्सनाले जिल्लामा चौथो मत प्राप्त गरेका छन् ।




