Print

मोदीले मनायो नबौं स्थापना दिवस

४ चैत, पर्वत । पर्वतको मोदी गाउँपालिकाको नबौं स्थापना दिवस मंगलबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

बार्षिकोत्सवको अवसरमा गाउँपालिका स्थापना भएदेखि हालसम्मको समिक्षा, विपभिन्न १५ विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान तथा विभिन्न सांगितीक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले नागरिकको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । नागरिकका चाहाना र आवश्यकतालाई पहिचान गरी दिर्घकालीन प्रभाव पर्ने खालका क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभएको छ । कुँवरले तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य भएमा मात्र एकीकृत विकास गर्न सकिने धारणा राख्नुभयो ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले गाउँपालिका स्थापना भएदेखि हालसम्म भएका शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी लगायतका पुर्वाधार र गुणस्तर सुधार, आगामी योजना र उपलब्धिका बारेमा जानकारी दिनुभएको थियो ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने सामुदायिक होमस्टे तथा सहकारी संस्था लगायत गरी कुल १५ विधामा सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पुर्व अध्यक्ष प्रेम पौडेल, राप्रपा पर्वतका उपाध्यक्ष विशाल महत, रास्वपा मोदीका अध्यक्ष दाताराम चापागाई, नेपाली काँग्रेस मोदीका सभापति निर्देश लामिछाने, नेकपा एमाले मोदीका अध्यक्ष हिमलाल न्यौपाने, राजमो नेता, लगायतले बोल्नुभएको थियो । वक्ताहरूले गाउँपालिकाको समग्र विकासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र समृद्धि हासिल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष बिमल लामिछाने र संचालन शान्ति शर्माले गर्नुभएको थियो ।