Print

आन्तरीक पर्यटक बढे : कुश्माका होटलमा बास पाउनै मुस्किल


८ कार्तिक, पर्वत । तिहार सकिए लगतै आन्तरीक पर्यटकहरुको आगमनका कारण धौलागिरी क्षेत्रका होटलहरु भरीभराउ भएका छन् । पर्वत सदरमुकाम कुश्मा बजार, बागलुङ सदरमुकाम बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनी बजार तथा मुस्ताङका अधिकांश होटलहरु भरीभराउ छन् । शनिवार राती अबेर सम्म सदरमुकाम कुश्मा बजारमा होटलमा बास खोज्ने सयौ पर्यटकहरु सडकमा भेटिएका थिए । हिमाल पारीको जिल्ला मुस्ताङ र कुश्माका साहसिक खेलहरुको भ्रमण गर्नका लागि आउने गरेका पर्यटकहरुका कारण यति बेला सवै जसो होटलहरु भरीभराउ छन् ।

कुश्मा बजार भित्र झण्डै ५ सय जनाको क्षमताका होटलहरु सञ्चालनमा रहे पनि ति सवै होटलहरु भरीभराउ थिए । बजार क्षेत्रका होटलहरुमा कोठा नपाए पछि पर्यटकहरु राजमार्ग छेउछाउका होटलहरुमा बाँस बस्न बाध्य भएका छन् । बर्षायाम सकिएको र तिहारको विदा समेत लामो भएका कारण यति बेला आन्तरीक पर्यटकहरुका ठूलो संख्या भ्रमणमा निस्किएको छ । ठूलो संख्याले बास पाउन नसकेपछि म्याग्दी र मुस्ताङ जिल्ला प्रशासनले सार्वजनिक सुचना जारी गरी होटल बुकिङ गरेर मात्रै भ्रमणमा आउन अनुरोध गरीसकेका छन् ।

पछिल्लो समय साहसिक खेलहरुका कारण प्रसिद्धि कमाएको पर्वत सदरमुकाम कुश्मा बजारमा यति बेला आन्तरीक पर्यटकहरुले होटलहरु खचाखच देखिन्छन् । पछिल्लो समय सुविधासम्पन्न होटलहरुको संख्यामा बृद्धि हुँदै गए पनि ठूलो संख्यामा आउने पर्यटकहरुलाई धान्नसक्ने अझै होटलको अभाव देखिएको छ । होटल स्वर्गका सञ्चालक सुवासचन्द्र पौडेलले सयौ पाहुनालाई साँझको समयमा कोठाको अभावमा फिर्ता पठाउनु परेको बताउँछन् ।

होटल बुकिङका लागि अनलाईन मार्फत अनुरोध गरेका धेरै पर्यटकलाई कोठा दिन नसकेको भन्दै एड्भेन्चर रिर्सोटका सञ्चालक सुनिल बाँनियाले होटलहरुको क्षमतालाई अझै धेरै बृद्धि गर्नुपर्ने बताए । कुश्मामा रहेको होटल बन्दना, माउन्टेन भ्यू, रोएल कुश्मा, होटल बेन्जु, होटल स्वर्ग, वारीवेनीमा रहेको ज्ञान गौरी लगाएतका ठूला होटलहरुले पाहुना धान्न नसकेपछि अरु होटलहरुमा समेत पर्यटक खचाखच भएका छन् । बन्जी साइडमा रहेका होटल तथा द क्लिपमा समेत कोठाहरुको ‘अकुपाई’ छ ।

यातायातको सहज पहुँच र पर्यटकीय स्थलहरुको बृद्धिका कारण पछिल्ला बर्षहरुमा यो क्षेत्रमा आउने पर्यटकहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । उता, म्याग्दीको वेनी र मुस्ताङका सवै जसो होटलहरु समेत बुकिङ भईसकेको समाचारहरु प्राप्त भईरहेका छन् । म्याग्दीको वेनीमा अलपत्र परेका यात्रुहरुलाई स्थानीयबासीले ब्यक्तिगत घरहरुमा समेत लगेर बास दिएको त्यहाँका युवा नेता प्रकाश पौडेले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

मुस्ताङका पत्रकार महासंघका पूर्व अध्यक्ष सुन्दर थकालीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मुस्ताङमा १० हजार बढि पर्यटक एकै दिन भित्रिएको दावी गरेका छन् ।