९ कार्तिक, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका एक युवा विगत तीन महिनादेखि वेपत्ता बनेका छन् ।
गत असार ३० गते विहान १० बजे घरवाट निस्केका स्थानीय ३४ बर्षिय दुर्गाबहादुर सार्की अझै सम्म पनि सम्पर्कमा नआएका हुन् । घरवाट सदरमुकाम कुश्मातर्फ गएपछि सम्पर्क बिहीन बनेका युवाको खोजीका लागि उनकी भाउजु माया सार्कीले जिल्ला प्रहरी कार्यालय पर्वतमा हुलिया सहित निवेदन दिनुभएको छ ।
घरमा श्रीमतीले धोका दिएको भन्दै निस्किएका दुर्गा घरमा नफर्कने बाचा गरेका थिए । छिमेकीले हारगुहार गरी घरमै बस्न आग्रह गरेपनि नमानेका दुर्गा दिउँसो कालीगण्डकी नदि किनारमा समेत देखिएको आफन्तहरुले जानकारी पाएका थिए । श्रीमती र छोराछोरी भएको व्यक्ति एक्कासी वेपत्ता बनेपछि परिवार समस्यामा परेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले वेपत्ता बनेका दर्गाबहादुरको खोजीका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । वेपत्ता युवाको हुलियासहित सवै प्रहरी युनिटहरुमा पत्राचार गर्दा पनि पत्ता नलागेकोले पत्रकार, आफन्तजन, तथा आम नागरिकहरुमा वेपत्ता युवाको खोजतलासका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।




