१६ जेठ, पर्वत । जिल्लाको मोदी ७ राम्जादेउरालीमा एक विशाल पोखरी छ । जैविक विविधताले युक्त पंचासेको फेदीमा रहेको उक्त पोखरीलाई स्थानीयले ठूलिपोखरी नामले चिन्छन् । ठूलिपोखरी स्थानीयबासीको जीवन जिउने आधार स्रोत पनि हो । ठुलिपोखरी झण्डै ६ हजार ६ सय १५ क्वायर फुटमा फैलिएको छ । पंचासे क्षेत्रको जैविक सभ्यतासंग जोडिएको ठूलिपोखरीलाई स्थानीयले कृषि, पशुपालन, सिंचाई र उत्पादनका अन्य आयामहरुसंग जोडिरहेका थिए । मच्छ्यालन ब्यवसायमा मार्फत आम्दानीको श्रोत समेत भित्रने गरेको ठुलिपोखरी विगत ७ बर्ष देखि पानी विहिन भएको छ । बर्षातको बेलामा असार, श्रावण र भदौ महिनामा पानी भरिने गरेको पोखरीमा अरु समयमा अहिले पानी देखिदैन् ।
स्थानीय टेकबहादुर घर्ति भन्छन्–‘ठूलिपोखरीमा पानी सुक्दा हामी निकै चिन्तित छौ ।’ पर्यावरण जोगाउनका लागि पनि पोखरीमा पानि हुनुपर्दछ । स्थानीयले बर्षौसम्म उपभोग गरीरहेको पोखरीको पानी एकाएक विगत ७ बर्ष देखि हराउन थालेको छ । पोखरीमा पानी हुँदा स्थानीयले माछापालन गर्ने गर्दथे । माछाको विक्रीबाट आएको आम्दानीले पोखरीसंगै रहेको मनकामना मन्दिरको नित्य पुजाआजा हुने गर्दथ्यो ।
जेठ महिनाको तेस्रो साता पोखरीमा पुग्दा पोखरी सुख्खा छ । पोखरीमा हरीयो घाँस पलाएको छ । बर्षात शुरु भएपछि पोखरीमा मुल फुट्ने गर्दछ । अहिले त्यहि मुलको पानी रोकिँदा मात्र पोखरीमा पानी रहने गर्दछ । स्थानीयले पोखरीबाट झण्डै १ सय हेक्टर खेतमा सिंचाई समेत गर्दै आइरहेका छन् । ७ बर्ष अघिको समय सम्झदै स्थानीय सीता हमाल भन्छिन्–‘हिउँदको बेलामा आहाल बस्ने गाईभैसीले पोखरी पुरै भरिन्थ्यो, अहिले पोखरी उजाड भएको छ ।’ पानीको श्रोतको रुपमा पोखरीलाई संरक्षण गर्नका लागि स्थानीयले पहल र प्रयास भने गरेका छन् । पोखरीमा प्राकृतिक पानी विस्तारै हराउन थालेपछि कृत्रिम पानीले पोखरी भर्ने योजना पनि स्थानीयले बनाए ।
मोदी गाउँपालिकाका प्राविधिक लगेर स्थानीयले झण्डै २२ लाखको योजना निर्माण गरे । नजिकै रहेको पानीको मुहानबाट पानी ल्याएर पोखरी भर्ने उनीहरुको योजना छ । घर्ति भन्छन्–‘बजेट अभावले कृत्रिम पानी ल्याउने योजना पनि अघि बढ्न सकेको छैन ।’
स्थानीय निरा हमालले पानीको आवश्यकता पुरा गर्ने पोखरी सुक्दा अहिले गाउँको अस्तित्व नै हराएको बताउँछिन् । पोखरीमा दैनिक बालबालिका नुहान, पौडी खेल्न आउने गर्दथ्थे । स्थानीयबासीले अहिले पोखरीको अस्तित्व नै हराउन गएको प्रति चिन्ता ब्यक्त गरे ।
पोखरीको संरक्षणका लागि रेलिङ निर्माणको काम भने भएको छ । प्राकृतिक रुपमा पानी आउने बनाउनका लागि अरु योजना भने अघि बढेको छैन् । जलवायू परिर्वतनसंगै जिल्लाका अरु स्थानका पोखरीहरु पनि सुक्न थालेका छन् । पृथ्वीको तापक्रममा बृद्धि भएसंगै पानीका मुल र श्रोतहरु हराउनेक्रम बढिरहेको छ ।




