४ जेठ, पर्वत । जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।
संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो ।
दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो । जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ । सडकलाई म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका जोड्ने गरी रणनैतिक सडकमा राखिएको संघीय सांसद तथा पूर्व मन्त्री पदम गिरीले बताए । सरकारले अघि सारेको संघीय रणनैतिक सडक अन्तर्गत पर्वतको एक मात्र सडकको रुपमा उक्त सडक कालोपत्रे गर्न संघीय सरकारले बजेट उपलब्ध गराएका गिरीको भनाई छ ।

पर्यटकीय गाउँ लेकफाँटमा सडक बनेसंगै पर्यटकहरुको समेत आगमनमा बृद्धि हुने वडाअध्यक्ष तिलक जिसी बताउँछन् । सडक कालोपत्रे भएसंगै यसको मर्मत र सम्भारको लागि गाउँपालिकाले यथोचित पहल गर्नुपर्ने जिसीको भनाई छ ।




