Print

पर्वतका मुख्य बजार क्षेत्रमा अनुगमन

२ असोज, पर्वत । चाडवाड नजिकिदै गर्दा पर्वतमा बजार अनुगमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालय, पत्रकार, सुरक्षा निकाय, नगरपालिका र भेटेरीनरी अस्पताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि सहित बजार अनुगमन गरिएको हो ।

कुश्माबजारका किराना पसल, होटल, मिठाई पसल, फ्रेस हाउस, पाउरोटी उद्योग लगायतको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा सवैभन्दा बढि समस्या मिठाई पसलमा देखिएको छ । मिठाईहरुमा अत्याधिक मात्रामा रङ्ग मिसावट गरिएको, सरसफाईमा कमी, बासी तथा सडेगलेका सामाग्रीहरु विक्रि गरेका भेटिएको छ । अनुगमन टोलीले सरसफाईमा कमी भएको एक मिठाई पसल र म्याद गुज्रेका सामाग्री विक्रिवितरण गर्दै आएको एउटा किराना पसल बन्द गराएको छ ।

त्यस्तै उद्योग, व्यावसाय नविकरण गर्न, म्याद गुज्रेका सामाग्रीहरु विक्रि वितरण नगर्न, पर्याप्त मात्रामा सरसफाई गर्न, मुल्यसुची टाँस गर्न सुझाव दिएको थियो । बजार उपभोक्ता मैत्री नरहेको पाईएको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । उपभोक्तानै आफ्नो स्वास्थ्यप्रति सचेत नभएसम्म बजार सुधार नहुने उनको भनाई छ ।

व्यावसायिहरु मुनाफा आर्जन गर्नेमात्र दृष्टिकोण राखेर व्यापार व्यावसाय गर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भैरहेको शर्माले बताए । बजारमा कुनैपनि सामाग्रीको अभाव भने नदेखिएको उनको भनाई छ ।

अन्य समय भन्दा चाडवाडको समयमा बस्तु तथा सामानको खरिदबिक्रि बढि हुने र यहि समयमा व्यावसायीले मनोमानी मूल्य बृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, मिसावटयुक्त र म्याद गुज्रेका सामानहरु विक्रिवितरण गर्ने भएकाले सचेतनाका लागि बजार अनुगमन गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोक नेपालीले बताए । सवै सरोकारवाला पक्षको सहभागितामा अनुगमन थालिएको र यसलाई निरन्तर संचालन गरिने उनको भनाई छ ।

पहिलो दिन ३३ वटा पसल अनुगमन गरिएको छ । सदरमुकामा मात्र नभई विभिन्न पालिकामा रहेका बजार क्षेत्रमा समेत अनुगमन गरिने भएको छ । वारीवेनी, फलेवास, हुवास, पातीचौर, कार्किनेटा, मिलनचोक लगायतका ठुला बजार क्षेत्रमा समेत अनुगमन गरिने कार्यालयले जनाएको छ ।