३० साउन, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न २ पूर्णागाउँ स्थित कुवापानीमा फेरी पहिरो गएको छ । अबिरल बर्षातसंगै बुधवार विहान करिब ६ बजेको समयमा पहिरो आएको हो । पहाडवाट खसेको पहिरोले बस्तीलाई उच्च जोखिम बनाउनुका साथै बालीनाली पुरेको छ । गत बर्ष पनि पहिरो गएपछि उक्त स्थान उच्च जोखिममा परेको थियो ।
कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूणर्गाउँ, मुलघडेरी, नेपानेका झण्डै १० वटा घर बिस्थापित भएका छन् भने झण्डै सयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गत बर्ष मात्रै असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले पनि घरहरु विस्थापीतको जोखिममा परेका थिए ।
चालु मनसुनमा पनि जोखिमयूक्त रहेको उक्त स्थानमा आज फेरी पहिरो गएको जलजला वडा न ४ का वडाअध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । क्षेत्रीले अहिले पहिरोको क्षतिको अध्ययन भईरहेको बताएका छन् । पहिरोले थप कति क्षति पुगेको विवरणहरु प्राप्त भएका छैनन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले धेरै बालीनाली पुरेको छ । यस अघि गत बर्ष मात्रै पहिरो जाँदा खानी तथा भुगर्भ विभाग अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधवार जलजला गाउँपालिका वडा नं. –५ कुवापानीको पहाडमा पुगेको थियो ।
विभागका भुगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र आइटी इन्जिनियर इश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले वस्तीलाई स्थानान्तरण गर्न सुझाब दिएको थियो । टोलीले पहिरोको चारै क्षेत्रवाट अध्ययन गरेपछि यस्तो सुझाब दिएको थियो ।




