२३ वैशाख, पर्वत । दम्पत्ति हत्या पछि त्रसित बनेको जलजलाको माझफाँट क्षेत्रका स्थानीयले अस्थायी प्रहरी वीट राख्न माग गरेका छन् । जिल्लाको जलजला २ मा गत चैत १९ गते राती एक दम्पत्तिको विभत्स हत्या भएको थियो । हत्यामा संग्लन्न दुई युवालाई प्रहरी सार्वजनिक गरेको छ । उता, स्थानीयले भने गाउँमा असुरक्षा बढ्दै गएको भन्दै प्रहरी सुरक्षाको माग गरेका छन् ।

जलजला २ का वडाका अध्यक्ष प्रकाशबहादुर घर्ति क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला अधिकारीलाई भेटेर अस्थायी प्रहरी विटको माग गरेको बताए । उनले गाउँमा युवाहरुको संख्या घट्दै जाने र बृद्धबृद्धाको संख्या उल्लेख्य भएको भन्दै आपराधिक घट्दाहरु नियन्त्रण गर्न प्रहरीको नियमित सुरक्षा हुनुपर्ने धारणा राखे ।
प्रहरीको सुरक्षा ब्यवस्था बढाउनका लागि जिल्ला प्रहरी कार्यालय तयार रहेको भन्दै वडा न ४ का बडा अध्यक्ष भरतबहादुर खत्रीले सुरक्षा ब्यवस्थाको लागि स्थानीय रुपमा सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए । खासगरी जलजला गाउँपालिकाको वडा न २, ३ र ४ नम्बरमा जनसंख्या पनि उल्लेख्य भएको र सुरक्षा ब्यवस्थाको प्रवन्ध उचित रुपमा नभएको भन्दै सो वडाका वडाअध्यक्षहरुले सामूहिक रुपमा सुरक्षा ब्यवस्था बढाउन माग गरेका हुन् ।

जलजला गाउँपालिकाकै मिलनचोकमा प्रहरी चौकी छ । प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले उक्त प्रहरी चौकीलाई स्तरोउन्नती गर्न सकेको खण्डमा थप सुरक्षा ब्यवस्थाका लागि माझफाँट क्षेत्रमा प्रहरी विट राख्नका लागि सहज हुने धारणा ब्यक्त गरेको स्थानीय बडाअध्यक्षहरुको भनाई छ ।
जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको चैत १९ गते राती हत्या भएको थियो ।
घटनामा सग्लन्न पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले सार्वजनिक गरेको हो । दर्जी हाल पाखरा स्थित नयाँ बजारमा डेरा गरी बस्ने गरेका थिए ।
यसैगरी प्रहरीले हत्यामा सग्लन्नहरुले लुटपाट गरेको सुनलाई खरिद तथा तथा सुन गाल्नमा सग्लन्न हुने थप २ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
पर्वत जिल्ला जलजला गाउँपालिका वडा न १ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।




