२२ वैशाख, पर्वत । शुक्रबार जिल्लाको कुश्मा नगरपालिका वडा न ११ पकुवामा नगर प्रमुख सहितको टोली पुग्यो । नगरपालिकाले स्थानीयका गुनासा सुन्नका लागि आयोजना गरेको कार्यक्रम पुगेका कृषकहरुले आफ्ना पिडाका कुरा सुनाए ।
‘देश कृषि प्रधान मुलक भए पनि कृषी गर्ने देशमा वातावरण नै छैन’ स्थानीय डम्मर विकले थपे– ‘खेती योग्य जमिन बाँझै छ ।’ स्थानीय साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका विकले बाँदर नियन्त्रण विना देशको कृषि क्षेत्र फस्टाउन नसक्ने कुरा उल्लेख गरे ।
बर्षेनी असिना पर्छ, किसानको बाली सखाप पार्छ, उनले थपे खडेरी र बाँदर अहिले कृषकका शत्रु भएका छन् । बाँदरका कारण बर्षेनी मकै लगाउने बारी अहिले बाँझै छन् ।
कुश्मा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रश्न कर्ता विकले नजिकैको खेतीयोग्य बारी देखाउँदै भने – ‘बाँदर आतंकले यी बारीहरु बाँझै छन् । खेती लगाउ बाँदरले सक्छ, खेती नगरौ खाने अन्न हुन्न ।’
स्थानीय सामाजिक अभियान्ता रामचन्द्र सुवेदीले पनि त्यहि विषय दोहोराए । उनले खेती योग्य जमिन बाँझो हुँदा देशको खाद्यन्न उत्पादन घट्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । देशका ३ वटै तहका सरकारले यसको लागि विशेष योजना ल्याउनुपर्ने सुवेदीको भनाई थियो ।
नगर प्रमुख रामचन्द्र जोशीले बाँदर नियन्त्रणको समस्या देशब्यापी भएको कुरा उल्लेख गरे । उनले बाँदरको समस्या देखाएर कतिपय ठाउँका कृषकहरुले खेतीयोग्य जमिन बाँझो छोड्ने गरेको भन्दै बाँदरको समस्याले उत्पादन गर्न छोड्न नहुने तर्क गरे ।
‘खेती गर्दा दुःख हुने भएकाले कतिपय ठाउँमा बाँदरको कारण देखाएर उत्पादन गर्न छोडिएको छ ।’ नगरप्रमुख जोशीले थपे–कृषकलाई राहत दिने गरी कार्यक्रम ल्याउन नगरपालिका तयार छ ।
कृषकले यस बर्ष खडेरीको समेत सामना गरीरहेका छन् । हिउँदे बालीको रुपमा लगाएको मकै, गहुँ र आलु खेती बर्षात नहुँदा समस्यामा परेको छ ।