Print

नगर प्रमुख जोशीले गरे जेष्ठ नागरिक समाज भवनको उद्घाटन

१४ वैशाख, पर्वत । पर्वतमा जेष्ठ नागरिक समाजको भवन निर्माण गरिएको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भवन निर्माण गरिएको हो । संघीय सरकारको ४९ लाख ४६ हजार बजेटमा निर्मित दुई तले भवनमा सभाहल सहित ६ वटा कोठा निर्माण गरिएको छ । उक्त भवनमा भजन र प्रवचन कक्ष पनि हुने छ । ९ आना जमिनमा सुविधासम्पन्न भवन बनेपछि यहाँका जेष्ठ नागरिकले खुशी भएका छन् ।

अप्ठ्यारो अवस्थामा परेका वृद्धवृद्धाका लागि आवधिक गृह र परामर्श कक्षसहितको भवन बनेकोमा स्थानीय ६५ बर्षिय दिपा अधिकारीले खुशी व्यक्त गरिन् । भवन बनेपछि जेष्ठनागरिकलाई समय बिताउने र आफ्ना गुनासो राख्ने ठाउँ भएको उनको भनाई छ ।

‘पहिला विभिन्न ठाउँमा चौतारा थिए, बुढापाका जम्मा हुन्थ्यौँ, विकासका नाममा सवै रुख काटियो, स्थानीय ७६ बर्षिय मनमाया शर्माले भनीन्,‘अहिले भवन निर्माण भएपछि धेरै खुशी लागेको छ ।,’ भवनमा बसेर आफ्ना पुराना अतित र मनमा गुम्सिएका कुराहरु भन्न, आध्यामक तथा धार्मिक प्रवचन सुन्ने र भजन किर्तन गर्न सहज भएको शर्माले बताईन ।

भवनको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै जोशीले जेष्ठ नागरिकप्रति हेला गर्ने पराम्परा कायमै रहेको बताए । ‘छोराछोरीहरु गाउँ छोडेर शहर र परदेश जान थालेका छन्, गाउँमा बुढा बा÷आमालाई सास्ती छ उनले भने,‘‘ आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तरार्धमा सम्मानपूर्वक र आरामपूर्वक बाँच्न पाउने ज्येष्ठ नागरिकको अधिकार हो ।,

’’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले जेष्ठ नागरिक खुल्ला किताब भएको बताउँदै उनीहरुका ज्ञान, सिप र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिए । उनले भवनलाई प्रविधि मैत्री बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिकाकी पूर्व उपमेयर सिता काफ्ले लामिछाने, कटुवाचौपारीका वडा अध्यक्ष राम शर्मा लामिछाने, सामजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकाल, कटुवाचौपारीका पूर्व अध्यक्ष कृष्णाप्रसाद लामिछाने, अल्पेश्वर गुफाका अध्यक्ष सुरेश वहादुर पिसी, शिव बद्रि नारायण गुठीका पुजारी कमल शर्मा र शिव बद्रि नारायण गुठीका प्रमुख संरक्षक डण्डपाणी शर्मा पौडेल लगायतले मन्तव्य राखेका थिए ।

भवन निर्माण समितिकी अध्यक्ष लक्ष्मी कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका अध्यक्ष गोपालदास बैरागील गरेका थिए । साजन परियारले गण्डकी सञ्चारमा समाचार लेखेका छन् ।