१२ वैशाख, पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरबासीका असिमित आवश्यकता पुरा गर्न नगरपालिकासंग सिमित श्रोत साधन रहेको उल्लेख गरेका छन् । नगरपालिका कुश्मा नगरपालिका वडा न १२ मा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले नगरपालिकाको सिमित श्रोत साधनले सवै नगरबासीका आवश्यकताहरु पुरा गर्न नसकिएको बताएका हुन् । वडाबासीहरुका सुझाब र गुनासा सुने पछि नगरप्रमुख जोशीले रचनात्मक सुझाबहरुको प्रशंसा गरेका थिए ।

जोशीले आफूले प्रगति गर्ने काममा लाग्न र अरुको रिसिबी गर्ने काममा नलाग्न वडाबासीलाई आग्रह समेत गरे । प्रत्येक बर्ष गाउँ रित्तिदै गएको कुरा उल्लेख गर्दै बाँदर नियन्त्रण प्रति वडाबासीको चासो नगरपालिकाको गम्भिर समस्या रहेको समेत जोशीले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नको उत्तर दिदै उपप्रमुख स्वस्थानी रिजालले आयोजनाको काम सम्पन्न गर्दा सवै प्रक्रिया पुरा गर्न आग्रह गरिन । उनले जनताका गुनासाहरु सुनेर नै जनप्रतिनिधिले आफ्ना कमजोरीहरु पत्ता लगाउन सक्ने भन्दै नगरपालिकाले अव देखि सार्वजनिक सुनुवाई कार्यक्रम निरन्तर गरीरहने समेत उल्लेख गरिन ।
प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले नगरबासीका गुनासा प्रत्यक्ष रुपमा सुन्ने थलो नै सार्वजनिक सुनुवाई भएको कुरा बताए । उनले ठुलिपोखरी जस्तो पवित्र स्थलबाट नगरपालिकाले पवित्र कार्यको प्रारम्भ गरेको भन्दै ठुलिपोखरी धार्मिक रुपमा पनि एतिहासिक स्थल भएको दावी गरे ।
कार्यक्रममा नगर शिक्षा अधिकृत विष्णु तिवारी, स्वास्थ्य शाखा प्रमुख यामनाथ शर्माले जनगुनासाहरुको उत्तर दिएका थिए । जि एण्ड जि मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा स्थानीयबासीले नगरपालिकासंग प्रश्नसंगै गुनासा र सुझाबहरु समेत दिएका थिए ।
नगरपालिकाले अन्य वडाहरुमा समेत सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने योजना बनाईरहेको कुश्मा नगरपालिकाका योजना शाखा प्रमुख देवी शर्माले जानकारी दिइन् ।




