८ वैशाख, पर्वत । भरखरै सम्पन्न नेकपा (एमाले) को जिल्ला कमिटि सदस्यहरुमा २५ प्रतिशत भन्दा बढि युवाहरु ४० बर्ष मुनीका छन् । एमालेले दशौं जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्दा युवालाई प्राथमिकता दिएको हो । जिल्ला कमिटिको उपाध्यक्षमा ४० बर्षमुनी कै युवा बिमल लामिछानेले निर्वाचन जितेका छन् ।

यसैगरी युवा समूहकै सचिव सुवासचन्द्र पौडेल जिल्ला कमिटिमा प्रवेश गरेका छन् । युवा महिलाकै प्रतिनिधित्व गर्दै उप सचिवमा विन्दु अधिकारीले निर्वाचन जितेकी छिन् ।
एमालेले राजनीतिमा युवालाई प्रवेश गराउने घोषित नीतिकै आधारमा कुल ८५ कमिटिमा २५ प्रतिशत भन्दा बढि युवा वर्गका सदस्यहरुले अवसर पाएका छन् । जिल्ला अधिवेशनमा १८ जना सदस्य ४० बर्ष मुनीको हुनुपर्ने गरी कोटा निर्धारण गरेको एमालेले कुल ८५ पद मध्ये ३७ पदमा निर्वाचन गरेको थियो ।
एमालेले खुल्ला भुगोलमा २ महिला सहित ४ जनालाई कोटा नै आरक्षण गरेको थियो । यसैगरी सवै पालिकाहरुमा १ महिला १ पुरुष गरी २ जना ४० बर्ष कम उमेरका युवालाई कोटा सुरक्षित गरेपछि युवाको संख्या जिल्ला कमिटिमा ह्वातै बढेको छ । निर्वाचनमा अन्य कोटाबाट समेत ४० बर्ष कम उमेरका युवाहरु निर्वाचित भएको एमाले श्रोतको भनाई छ ।
निर्वाचित र सर्वसहमत गरी कुल कमिटि भित्र झण्डै २२ जना भन्दा बढि युवा नेतृत्वले अवसर पाएको छ ।
युवा पलाएन नरोकिएपछि एमालेले राजनीतिमा युवा प्रवेश गराउने देश विकासको नयाँ भिजन भित्राउने योजना बनाएको हो । अभियान अन्तरगत नै एमालेले युवाहरुलाई सवै कमिटिमा प्रतिनिधित्व गराउने गरी योजना बनाईरहेको छ ।





