८ वैशाख, पर्वत । कुश्मा नगरपालिकाले जनगुनासो सुन्नका लागि वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले सवै वडाहरुमा पुगेर जनताको गुनासो सुन्ने गरी वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
जिल्लाको ठुलो र पहिलो नगरपालिकाले जनताका गुनासो सुन्ने, निर्माणधिन आयोजनाहरुको अवस्थाको बारेमा जानकारी लिने र चालु आर्थिक बर्षमा भएका प्रगतिहरुको बारेमा समेत स्थानीयलाई जानकारी गराउने उद्देश्यका साथ वडा स्तरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यालयले चालु आर्थिकमा सम्पन्न भएका वडागत योजनाहरु सम्बन्धित वडाका जनसमुदायसंग नै बसेर प्रगति समिक्षा समेत गर्ने प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जानकारी दिए । गौतमका अनुसार आगामी वैशाख १० गतेबाट सार्वजनिक सुनुवाईको सेडुएल तयार भएको छ । कुश्मा १२ ठुलिपोखरीबाट शुरु हुने सार्वजनिक सुनुवाई कार्यक्रम सवै वडाहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । वडा न ४, ५, ६ र ७ को भने पालिका स्तरीय सार्वजनिक सुनुवाई कै दिनमा आयोजना हुने भएको छ ।
नगर स्तरीय सार्वजनिक सुनुवाई मात्र गर्दा जनताका सवै गुनासोहरु सुन्न नसकिने भएकाले नगरपालिका सवै वडामा पुग्न लागेको नगर प्रमुख रामचन्द्र जोशीको भनाई छ । जोशीले सवै वडाबासीहरुले आफ्नो जायज गुनासा लिएर सार्वजनिक सुनुवाईमा उपस्थित भएर वडाका प्रतिनिधि मार्फत नगरपालिकासंग गुनासा र जिज्ञासा राख्न समेत अनुरोध गरेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण जि एण्ड जि मिडिया प्रालिले गर्नेछ । वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेपछि नगरपालिकाले नगर स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम समेत कुश्मा बजारमा आयोजना गर्ने गरी तयारी गरेको छ ।





