Print

मगर संस्कृति नेपालको सम्पत्ति हो : पूर्व मन्त्री गिरी


१७ फागुन, पर्वत । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मगर संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् । बुधवार पर्वतको कुश्मा बजारमा आयोजीत तेस्रो मगर महोत्सवको उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले नेपालका मगरहरुको परम्परागत संस्कृति नेपालको सांस्कृतिक सम्पत्ति भएको बताएका हुन् ।

गिरीले मगर समुदाय भित्रको भावनात्मक एकता सांस्कृतिक सम्बन्धले सवै नेपालीलाई एकताको शुत्रमा बाधेर राखेको बताएका छन् । १२ दिनसम्म चल्ने मगर महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य समेत रहेका गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे ।

इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताए । प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए ।

गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । यो देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाई छ ।

महोत्सवमा ३ करोड बढिको कारोबार हुने आयोजकले दावी गरिएको छ ।