१६ माघ, पर्वत । जिल्लाका अधिकांश सडकहरु कालोपत्रेको चरणमा रहँदा पनि कालोपत्रेको काम शुरु नभएको पर्वतको गगटे आर्थर सडक कालोपत्रे हुने भएको छ । कुश्मा नगरपालिका वडा न ११ पकुवा र वडा न १४ आर्थर जोड्ने गगटे आर्थर सडक विगत लामो समय देखि जिर्ण अवस्थामा छ ।
स्तरोउन्नतको पखाईमा रहेको उक्त सडक अव भने कालोपत्रे हुने भएको हो । पूर्वधार विकास कार्यालयले झण्डै ४ करोड २७ लाख बराबरको ठेक्का मार्फत सडक स्तरोउन्नती गर्न लागेको हो ।
सडक कालोपत्रे नहुँदा यहाँको यात्रा कष्टकरपूर्ण हुने गरेको छ । सदरमुकाम कुश्मा बजार जानका लागि प्रयोग हुने मुख्य मार्ग भए पनि गगटे आर्थर सडक हालसम्म कालोपत्रे हुन सकेको थिएन । कार्यालयले सडक निर्माणको बहुबर्षिय ठेक्का आब्हान गरेको छ ।
कुश्मा नगरपालिका भित्रको सवैभन्दा अप्ठयारो सडकको रुपमा लामो समय देखि उक्त सडक निर्माणको प्रतिक्षामा थियो । चालु आर्थिक बर्ष देखि सडकको निर्माण कार्यको काम शुरु हुने भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।




