३ माघ, पर्वत । पर्वत अस्पतालको प्रसुति सेवामा सुधार आएको छ । अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायका अनुसार चालू आर्थिक वर्षको छ महिनामा मात्रै ५२ वटा शल्यक्रिया गरेर बच्चा जन्माइएको छ। चालू आर्थिक वर्षको साउनमा छ वटा, भदौमा १३ वटा, असोजमा १४ वटा, कार्त्तिकमा तीन वटा, मङ्सिरमा नौ वटा र पुसमा सात वटा गरी कुल ५२ वटा शल्यक्रिया भएको खबर थाहा खबरका लागि सञ्जय रेग्मीले समाचार लेखेका छन् ।
‘छ महिनाको अवधिमा ५२ औँ इमर्जेन्सी एलएससीएस सफलतापूर्वक सम्पन्न भएका छन्। यी सबै शल्यक्रिया गरिएका आमा र बच्चाहरूको स्वास्थ्य अवस्था राम्रो रहेको छ’, सूचना अधिकारी आचार्यले भने, ‘हामीसँग आवश्यकता अनुसारको जनशक्ति छैन। शल्यक्रियाको लागि हुनुपर्ने प्रविधि, जनशक्ति लगायतका अभावकैबीच पनि हामीले धेरै सङ्ख्यामा शल्यक्रिया गरिरहेका छौँ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले पर्वत अस्पतालमा गर्ने गरिएका शल्यक्रियाहरू आकस्मिक खालका भएको बताए। चिकित्सकलाई मन लागेर भन्दा पनि आमा र बच्चाको स्वास्थ्यमा खतरा उत्पन्न नहोस् भन्नका लागि शल्यक्रियाहरू गरिएको उनको भनाइ छ।




